Banijya News

लेखापरीक्षण क्षेत्र अर्थतन्त्रको पारदर्शिताको आधार : एआईलाई अवसरका रूपमा लिन अध्यक्ष अनुप नेपालको आग्रह

1
1.1K Shares

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकमा आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र सुशासन कायम गर्न लेखापरीक्षण पेशाले अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लेखापरीक्षण क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै यसले राज्य, निजी क्षेत्र र आम नागरिकबीच विश्वास कायम गर्ने आधार तयार गर्ने उल्लेख गरे।

उनका अनुसार प्रभावकारी लेखापरीक्षण प्रणालीले सरकारी राजस्व सङ्कलनलाई पारदर्शी बनाउनुका साथै निजी क्षेत्रको आर्थिक गतिविधिमा विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ। अडानसँग आबद्ध लेखापरीक्षकहरूले आफ्नो व्यावसायिक दक्षता र जिम्मेवारीका माध्यमबाट देशको वित्तीय प्रणालीलाई मजबुत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरिरहेको भन्दै उनले उनीहरूको योगदानको प्रशंसा गरे।

अध्यक्ष नेपालले एक्यान र अडानबीचको सहकार्यले नेपाली लेखा तथा लेखापरीक्षण पेशालाई अझ व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन सहयोग पुगेको बताए। उनले दुवै संस्थाको साझा उद्देश्य पेशागत स्तर उकास्नु, व्यावसायिक अधिकारको संरक्षण गर्नु तथा आवश्यक नीतिगत सुधारका लागि संयुक्त रूपमा पहल गर्नु रहेको स्पष्ट पारे। आगामी दिनमा पनि यी दुई संस्थाबीचको सहकार्य अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा उनले प्रविधिको तीव्र विकाससँगै लेखापरीक्षण पेशामा पनि नयाँ चुनौती र अवसर थपिएको उल्लेख गरे। अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड, कर प्रणालीमा भइरहेका परिवर्तन तथा डिजिटल प्रविधिको विस्तारलाई आत्मसात् गर्न निरन्तर सीप विकास आवश्यक रहेको उनको भनाइ थियो। विशेषगरी कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) प्रति देखिएको अनावश्यक डर हटाउनुपर्नेमा उनले जोड दिए।
एआईलाई प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा लिनुपर्ने धारणा राख्दै उनले विगतमा क्याल्कुलेटरको प्रयोग सुरु हुँदा पनि यस्तै आशंका व्यक्त गरिएको प्रसंग स्मरण गरे। त्यसबेला विरोध भए पनि अहिले क्याल्कुलेटर दैनिक कार्यको अनिवार्य साधन बनेको उदाहरण दिँदै उनले आगामी दशकभित्र एआई पनि लेखापरीक्षण पेशाको अभिन्न हिस्सा बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष नेपालले आधुनिक प्रविधिको उचित प्रयोगले कार्यसम्पादनलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन सकिने बताए। यद्यपि प्रविधिभन्दा पनि व्यावसायिक नैतिकता, निष्पक्षता, इमानदारिता र उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो। यिनै मूल्य र मान्यताले लेखापरीक्षण पेशाप्रतिको सामाजिक विश्वासलाई अझ बलियो बनाउने र मुलुकको आर्थिक सुशासनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए।

1

Scroll to Top