नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी गरेको छ । नेपालको पूँजी बजारको इतिहासमा प्राथमिक बजारलाई पूर्ण रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ धितोपत्र बोर्डले ‘नेपालको प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ जारी गरेको हो । सेबोनले ल्याएको यो श्वेतपत्रको मुख्य उद्देश्य विद्यमान प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन गर्ने रहेको छ ।
हालको परम्परागत प्रणालीलाई विस्थापित गर्दै आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्य यस श्वेत पत्रले लिएको छ । बोर्डले सार्वजनिक गरेको ११२ पृष्ठ लामो यस ऐतिहासिक दस्तावेजले पूँजी बजारका विद्यमान संरचनागत समस्याहरूको पहिचान गर्दै समाधानका स्पष्ट मार्गचित्रहरू प्रस्तुत गरेको छ ।
विशेषगरी, प्राथमिक निष्कासनमा हुने अत्यधिक माग, चिट्ठा प्रणालीको भर पर्नुपर्ने बाध्यता र संस्थागत लगानीकर्ताको न्यून सहभागितालाई सम्बोधन गर्न बोर्डले नयाँ नीतिगत व्यवस्था अघि सारेको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गर्नु, नेपालका लागि उपयुक्त सुधार मोडेल प्रस्ताव गर्नु, सार्वजनिक निष्कासन निष्कासन प्रणालीलाई बजारमा आधारित बनाउनु र लगानीकर्ता संरक्षण सुदृढ गर्नुपर्ने श्वेतपत्रको मुख्य उद्देश्य रहेको छ ।
श्वेत पत्रको सबैभन्दा महत्वपूर्ण पक्ष प्राथमिक निष्कासनको मूल्य निर्धारण प्रक्रियामा गर्न खोजिएको व्यापक सुधार हो । हाल नेपालमा अधिकांश कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले शेयर निष्कासन गर्दै आएका छन्, जसले गर्दा बजारमा वास्तविक मूल्य अन्वेषण हुन सकेको छैन ।
श्वेत पत्रले अबका दिनमा ‘बुक बिल्डिङ’ प्रणालीलाई प्राथमिक विधिको रूपमा विकास गर्ने प्रस्ताव गरेको छ । यसअनुसार, कम्पनीको वित्तीय अवस्था र बजारको मागका आधारमा शेयरको मूल्य तय गरिनेछ । यसले गर्दा लगानीकर्ताले चिट्ठाको भरमा शेयर पाउने हालको परिपाटीको साटो वैज्ञानिक र पारदर्शी मूल्यमा आधारित बाँडफाँट प्रणालीको विकास हुने अपेक्षा गरिएको छ । साना र नयाँ कम्पनीका लागि निश्चित मूल्य प्रणाली कायम राखे पनि परिपक्व र ठूला कम्पनीका लागि बजार आधारित मूल्यमै जोड दिइने बोर्डको योजना छ ।
धितोपत्र बोर्डले श्वेतपत्रमा कानुनी तथा नियामकीय सुधारका आधार तयार पार्नु, संस्थागत क्षमता अभिवृद्धिको मार्गचित्र प्रस्तुत गर्नु, डिजिटल प्राथमिक पुँजीबजारको विकासलाई प्रवद्र्धन गर्नु र दीर्घकालीन पुँजीबजार विकासमा योगदान पुर्याउनु रहेको उल्लेख छ ।
श्वेत पत्रले ठूला लगानीकर्ता र प्रविधिको कुरा गरे पनि साना लगानीकर्ताको हितलाई विशेष ध्यान दिएको छ । लगानीकर्ता संरक्षणलाई यो गुरुयोजनाको केन्द्रविन्दुमा राखिएको छ । साना लगानीकर्ताका लागि नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, गुनासो सुनुवाइ प्रक्रियालाई प्रविधिमार्फत छिटो र प्रभावकारी बनाउने र कम्पनीहरूले जारी गर्ने विवरणपत्रलाई सरल नेपाली भाषामा उपलब्ध गराउने जस्ता बुँदाहरू श्वेत पत्रमा छन् ।
नेपालको पूँजी बजारमा ८० लाखभन्दा बढी डिम्याट खाता पुगिसकेको र शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको वर्तमान अवस्थामा यो श्वेत पत्र एक सान्दर्भिक र साहसिक कदम बन्न सक्छ । बोर्डले प्रस्ताव गरेका यी सुधारहरू यदि अक्षरशः कार्यान्वयन हुने हो भने नेपाली पूँजी बजारमा हाल रहेको अदृश्य सिन्डिकेट र अपारदर्शी मूल्य निर्धारणको अन्त्य भई एक स्वस्थ, प्रतिफलमुखी र भरपर्दो बजारको निर्माण हुनेछ । यद्यपि, यी महत्वाकांक्षी योजनाहरूको सफलता सरकारी प्रतिबद्धता, कानुनी संशोधनको गति र बजारका सबै सहभागीहरूको इमानदार सहकार्यमा भर पर्नेछ ।


