नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको बताए । नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने उनको भनाइ थियो ।
विशेष महाधिवेशन नगरौं, यसले पार्टी कमजोर हुन्छ भनेको बताउँदै नेता सिंहले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ । त्यसले पार्टी बलियो हुन्छ भनेका थियौं ।’
सिंहले विशेष महाधिवेशनपछि काँग्रेस कमजोर भएको र पार्टी फुटको अवस्थामा पुगेको दाबीसमेत गरे । उनले विशेष महाधिवेशनलाई अवैधानिक रहेको टिप्पणी गर्दै त्यससम्बन्धी आफ्नो धारणा सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशबाट पनि सम्बोधन भएको जिकिर गरे ।
अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन । निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेको नेता सिंहले बताए । साथै, काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपणका क्रममा आफ्नो पक्षले न्याय पाउने विश्वास पनि सिंहले व्यक्त गरेका छन् ।


