अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासेलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूलाई २१ गते राति करिब ९ बजे बानेश्वरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा फेला पारी प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले वानएक्स बेटमार्फत सट्टेबाजी गर्ने–गराउने तथा ठूलो परिमाणमा अमेरिकी डलरसहित अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा ७९ हजार ६८ दशमलव ६५ अमेरिकी डलर बराबरको कारोबार विवरण देखिएको प्रहरीले जनाएको छ । उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ बराबर हुन्छ ।
त्यस्तै, उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ अमेरिकी डलर बराबरको अभौतिक मुद्रा मौज्दात फेला परेको प्रहरीले जनाएको छ । उक्त रकम नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३६ रुपैयाँ बराबर हुन्छ ।
प्रहरीका अनुसार उनीहरूले वानएक्स बेटमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबारसमेत गरेको देखिएको छ । उनीहरूको साथबाट पाँच थान मोबाइल बरामद गरिएको छ ।


