नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क क्यूआरबाट हुने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने सुविधा उपलब्ध गराइनेछ ।
यसबाट सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने तथा भुक्तानी प्रक्रिया थप सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
सम्झौतामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट राजेन्द्रविक्रम बाँनिया र सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन् ।
सरकारले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णय यसअघि नै गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क तोकेको छ ।
तोकिएको दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, मिनी बस तथा मिनी टिपरट्रकले सुरुङमार्ग प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ ।
साथै, मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ ।
नगदरहित भुक्तानी प्रणाली लागू भएपछि विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क भुक्तानीमा थप सहज हुने अपेक्षा गरिएको छ ।


