नेपाली काँग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औं महाधिवेशन गर्नेलगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न आग्रह गरेको छ । काँग्रेसभित्र पार्टीको वैधानिकता तथा नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै राष्ट्रिय भेला आयोजक समितिले पार्टीका आगामी सांगठनिक गतिविधि तत्काल अघि नबढाउन आग्रह गरेको हो ।
नेपाली काँग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले केन्द्रीय समितिलाई मंगलबार पत्र लेख्दै सर्वोच्च अदालतबाट निस्सा पुनरावलोकनको अनुमति जारी भएकाले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न आग्रह गरेका हुन् ।
अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन चेतावनीसहित इतर पक्षले संस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । साथै, अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुनेसमेत चेतावनी दिएको छ ।
संस्थापनइतर पक्षले लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाली काँग्रेसको वैधानिकता र सम्बन्धमा यसअघि सम्मानित सर्वोच्चता भएको फैसला उपर पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुरको तर्फबाट दर्ता भएको पुनरावेदनमाथि सुनुवाइ हुँदै सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०७३ साउन २२ गते उक्त मुरा दोहोर्याई अनुमति अर्थात् ‘निस्सा’ प्रदान भएको ब्यहोरा सर्वविदितै छ । अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म साबिक संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी रूपमै प्रश्नचिह्न खडा भएको स्पष्ट देखिन्छ ।’
गम्भीर कानुनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र कानुनी संकट उत्पन्न नहोस् भन्नका लागि पत्र पठाइएको बताइएको छ । अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राख्न भनिएको छ ।
कोइरालाले कानुनी शासनको मान्यताअनुसार अदालतमा विचाराधीन विषयको अन्तिम परिणामलाई प्रभावित पार्ने खालका गतिविधि नगर्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । अदालतको निर्णयअघि संगठनात्मक प्रक्रिया वा अन्य गतिविधि अघि बढाइए त्यसबाट उत्पन्न हुन सक्ने कानुनी जटिलता तथा अदालतको अवहेलनासम्बन्धी दायित्व सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने चेतावनीसमेत पत्रमार्फत दिइएको छ ।



