यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु. १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व संकलन गरेको छ ।
कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु. ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व संकलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।
कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु. १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व संकलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु. ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठेको थियो ।
यसमध्ये सबैभन्दा धेरै सवारीसाधन करबाट रु. १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व संकलन भएको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त भएको देखिन्छ । साथै, यातायात क्षेत्रको आम्दानीबाट रु. एक करोड २० लाख ६८ हजार ७९० संकलन भएको बताइएको छ ।
यसैगरी, आयकरबाट रु. ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु. ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु. नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु. २७ हजार राजस्व संकलन गरेको थियो ।
नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु. ९५ लाख दुई हजार ९०० राजस्व संकलन भएको छ । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका छन् ।


