Banijya News

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

1
1.1K Shares

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो।

बैंकको आम्दानीमा भएको वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढ्न सहयोग पुगेको हो। बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी १० अर्ब १५ करोड ३९ लाख रुपैयाँ थियो।

त्यस्तै, कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा भने ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यससँगै वितरणयोग्य मुनाफा अघिल्लो आवको ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक अवस्थाबाट सुधार हुँदै गत आवमा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोष ३९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह ३ खर्ब ३२ अर्ब ८ करोड र निक्षेप संकलन ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २९.१४ रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात भने ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ। कोष लागत २.९६ प्रतिशतमा झरेको छ।

1

Scroll to Top