Banijya News

एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार

1
1.1K Shares

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ ।

सरकारले टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई गोपनीयताको हकमाथिको ठाडो हस्तक्षेप र कानुनी शासनको उपहास भएको आरोप लगाएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानबिन समितिको प्रतिवेदन आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । प्रतिवेदन सार्वजनिक भएलगत्तै एनसेलले सरकारको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै आपत्ति जनाएको छ ।

एनसलेले छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुँदा सरकारले प्रदान गरेको संवैधानिक र कानुनी प्रतिबद्धता र विश्वसनीयताको उल्लंघन भएको दाबी गरेको छ । एनसेलले भनेको छ, ‘लोकतान्त्रिक राज्य प्रणाली र कानुनको शासनमा यो पूर्ण रूपमा वर्जित छ । राज्यले कानुन बनाई व्यक्तिको सम्पत्ति, कारोबार, लिखत गोपनीय रहन्छन् भन्ने प्रत्याभूति प्रदान गरेको सो प्रावधान प्रतिकूल राज्यबाट भएको कार्य सर्वथा कानुनको उपहास हो ।’

कम्पनीले संवेदनशील व्यावसायिक सूचना सार्वजनिक गर्नु फौजदारी कसुरसमेत हुन सक्ने दाबी गरेको छ । एनसेलले उच्च अदालतको आदेशलाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।

कम्पनीका अनुसार छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित परेको रिट निवेदन उच्च अदालतबाट गत असार ३१ गते खारेज भइसकेको र उक्त फैसला अन्तिम रहेको अवस्थामा सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो ।

कम्पनीले अदालतको आदेश प्रतिकूल हुने गरी प्रतिवेदन सार्वजनिक गर्नु न्यायिक मर्यादाको गम्भीर उल्लङ्घन भएको जनाएको छ । अदालतले गोपनीय ठहर गरेको विषयलाई सरकारले सार्वजनिक गर्नु ऐतिहासिक रूपमा दुर्भाग्यपूर्ण घटना भएको एनसेलको भनाइ छ ।

एनसेलले सरकारको निर्णयले नेपालमा लगानीकर्ताको व्यावसायिक गोपनीयता र तथ्यांक सुरक्षित नरहेको नकारात्मक सन्देश अन्तर्राष्ट्रिय स्तरमा जाने चेतावनीसमेत दिएको छ । यस्तो कदमले विदेशी लगानीको वातावरण थप कमजोर पार्ने र यसको दीर्घकालीन असर मुलुकको अर्थतन्त्रमा पर्न सक्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार कुनै पनि व्यवसायसँग सम्बन्धित संवेदनशील सूचना तथा विवरण कानुनले तोकेको अवस्थामा बाहेक गोप्य राखिनुपर्ने हुन्छ । लगानीकर्ताको सहमति वा कानुनी आधारबिना त्यस्ता विवरण सार्वजनिक गरिनुले सरकार लगानी संरक्षणप्रति प्रतिबद्ध नरहेको सन्देश जाने एनसेलले जनाएको छ ।

एनसेलले सरकारको कदमले नेपालको संविधानसहित विभिन्न कानुनी व्यवस्थाको उल्लंघन भएको दाबी गरेको छ । संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ का विभिन्न प्रावधान तथा आयकर ऐन, २०५८ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ अन्तर्गत करदाताको गोपनीयतासम्बन्धी व्यवस्थासमेत सरकारले उल्लंघन गरेको कम्पनीको आरोप छ ।

विशेषगरी वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको दफा १० देखि १९ सम्म सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार, चरित्र तथा विद्युतीय माध्यमसँग सम्बन्धित गोपनीयताको हक सुनिश्चित गरिएको एनसेलले उल्लेख गरेको छ ।

राज्यले आफैं कानुन बनाएर गोपनीयताको प्रत्याभूति दिने र पछि आफैं त्यसको उल्लंघन गर्ने कार्य लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने कम्पनीले जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्ने निर्णयबाट कम्पनी, उसका सेयरधनी, सञ्चालक तथा अन्य हितग्राहीलाई अपूरणीय क्षति पुगेको एनसेलको दाबी छ ।

वैयक्तिक गोपनीयता सम्बन्धी कानुनले सार्वजनिक गर्न निषेध गरेका विषयसमेत बाहिर ल्याइएको भन्दै कम्पनीले यसविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार कानुनी उपचार खोज्ने जनाएको छ । एनसेलले भनेको छ, ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐनले वर्जित गरेका कुरा भए वा गरेमा भए गरेपछि कसुरदारलाई सजाय गर्न, क्षतिपूर्ति माग गर्ने मुद्दा गर्न सक्ने व्यवस्था भएकाले यससम्बन्धमा कम्पनीले आवश्यक निर्णय लिने कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’

एनसेलले आफूलाई भएको क्षतिबापत क्षतिपूर्तिको माग गर्ने अधिकारसमेत सुरक्षित राखेको स्पष्ट पारेको छ । कम्पनीले आगामी दिनमा यस विषयमा आवश्यक थप निर्णय लिने जनाएको छ ।

सरकारको निर्णय र त्यसविरुद्ध एनसेलको आपत्तिले नेपालमा विदेशी लगानी, व्यावसायिक गोपनीयता तथा सरकारी छानबिन प्रतिवेदनको सार्वजनिकतासम्बन्धी कानुनी बहसलाई थप पेचिलो बनाएको छ ।

1

Scroll to Top