Banijya News

स्मार्ट टेलिकम प्रकरण : बैंकिङ क्षेत्रमा बढ्यो त्रास, ऋण प्रवाहमै पुनर्विचार

1
1.1K Shares

स्मार्ट टेलिकमलाई प्रवाह गरिएको ऋण असुलीसम्बन्धी प्रकरणमा २२ जनाविरुद्ध बैंकिङ कसुर, ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि बैंकिङ क्षेत्रमा चिन्ता बढेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार साँझ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले करिब साढे चार अर्ब रुपैयाँ ऋणसँग सम्बन्धित प्रकरणमा १६ अर्ब १२ करोड १७ लाख २० हजार ४२२ रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दामा स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक तथा अन्य सम्बन्धित व्यक्तिहरूलाई विपक्षी बनाइएको छ ।

यस प्रकरणमा ऋण प्रवाह गर्ने बैंकका उच्च व्यवस्थापन र सञ्चालक समितिसम्मका व्यक्तिहरूलाई समेत अनुसन्धान तथा मुद्दाको दायरामा ल्याइएको विषयले बैंकिङ क्षेत्रलाई थप सशंकित बनाएको छ ।

केही दिनअघि बैंकर्सहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग स्मार्ट टेलिकमको ऋणसम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए । ऋण प्रवाह गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले ऋण किन र कसरी प्रवाह गरिएको थियो तथा त्यसको असुलीका लागि बैंकले गरेका प्रयासबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रकरणबारे आफूले बुझेको र बैंकहरूलाई अन्याय हुन नदिने आश्वासन दिएको बैंकर्सहरूको भनाइ छ । तर, त्यसको केही समयमै मुद्दा दायर भएपछि बैंकिङ क्षेत्र असन्तुष्ट बनेको हो ।

बैंकर्सहरूका अनुसार नियामक निकायको व्यवस्था र प्रचलित बैंकिङ प्रक्रियाअनुसार ऋण प्रवाह गरिएको अवस्थामा परियोजना असफल भएको कारण मात्र बैंकका निर्णयकर्तालाई आपराधिक कसुरमा तानिनु उचित हुँदैन । बैंकले ऋण असुलीका लागि गरेका प्रयाससमेत आपराधिक गतिविधिका रूपमा व्याख्या हुने अवस्था सिर्जना भएमा बैंकिङ क्षेत्रमा निर्णय गर्ने क्षमता कमजोर हुने उनीहरूको तर्क छ ।

विशेषगरी नयाँ तथा जोखिमयुक्त क्षेत्रमा लगानी गर्नुअघि बैंकका अधिकारीहरूले थप सावधानी अपनाउने अवस्था आउन सक्ने बैंकरहरू बताउँछन् । एक बैंकरले भने, ‘व्यावसायिक निर्णयकै आधारमा ऋण प्रवाह गर्दा परियोजना असफल भएपछि आपराधिक मुद्दा खेप्नुपर्ने हो भने नयाँ क्षेत्रमा ऋण लगानी गर्न बैंकहरू स्वाभाविक रूपमा हिच्किचाउँछन् ।’

यस घटनापछि सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेका परियोजनामा बैंकहरूले ऋण प्रवाह गर्ने कि नगर्ने भन्ने विषयमा समेत बहस सुरु भएको छ । बैंकर्स संघ, बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संगठन सीबीफीन तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भइरहेको बताइएको छ ।

बैंकर्सहरूले राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबाट बैंक तथा बैंकरको व्यावसायिक निर्णयलाई संरक्षण गर्ने आश्वासन पाए पनि मुद्दा अघि बढेकाले आफूहरू सुरक्षित महसुस गर्न नसकेको बताएका छन् ।

स्मार्ट टेलिकम प्रकरणले ऋण प्रवाह, परियोजना जोखिम मूल्यांकन, ऋण असुली तथा बैंकका उच्च अधिकारीको जिम्मेवारीबारे नयाँ बहस सिर्जना गरेको छ । बैंकिङ क्षेत्रले व्यावसायिक निर्णय र आपराधिक नियतबीच स्पष्ट कानुनी सीमा निर्धारण गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

बैंकर्सहरूको भनाइमा व्यावसायिक निर्णयकै कारण बैंकका अधिकारीहरू आपराधिक मुद्दामा तानिने अवस्था कायम रहेमा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा कर्जा प्रवाह, लगानीको वातावरण र समग्र आर्थिक गतिविधिमा पर्न सक्छ । यसले बैंकहरूलाई सुरक्षित र सहज रूपमा ऋण विस्तार गर्नुभन्दा जोखिम घटाउनेतर्फ केन्द्रित गराउन सक्ने उनीहरूको चिन्ता छ ।

1

Scroll to Top