Banijya News

माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशत बढ्यो, कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनमा दबाब

1
1.1K Shares

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा र व्यवसाय दुवै विस्तार गर्न सफल भएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२.२४ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुर्‍याएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ थियो। नाफामा भएको वृद्धि बैंकको आम्दानी विस्तारसँगै सञ्चालन गतिविधिमा आएको सुधारको संकेत हो।

बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको समग्र कारोबार र आम्दानी क्षमतामा विस्तार भएको देखाउँछ।

बैंकको व्यवसाय विस्तारको प्रमुख आधार निक्षेप र कर्जा दुवैमा भएको वृद्धि हो। बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अर्थात्, एक वर्षमै बैंकले करिब ३६ अर्ब रुपैयाँले निक्षेप बढाएको छ। यसैगरी, कर्जा लगानी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा विस्तार हुनुले बैंकको व्यवसायिक गतिविधि तीव्र भएको देखाए पनि कर्जाको गुणस्तर कायम राख्नु अबको मुख्य चुनौती बन्ने देखिन्छ।

यसको संकेत निष्क्रिय कर्जामा देखिएको सामान्य वृद्धिले पनि गर्छ। बैंकको निष्क्रिय कर्जा अनुपात ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ। वृद्धि सामान्य भए पनि बैंकको कर्जा विस्तारसँगै खराब कर्जाको जोखिम नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ। अझ कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम ५५ करोड ६७ लाखबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यसले बैंकले सम्भावित कर्जा जोखिमप्रति सावधानी अपनाएको देखाउँछ, तर त्यसले आगामी दिनमा नाफामा दबाब पार्न सक्ने सम्भावना पनि रहन्छ।

बैंकको वितरणयोग्य नाफा पनि बढेको छ। अघिल्लो वर्ष ९३ करोड ६४ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा गत वर्ष ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। यसले सेयरधनीलाई प्रतिफल वितरण गर्ने बैंकको क्षमतामा केही सुधार भएको देखाउँछ। प्रतिसेयर आम्दानी १७.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६९.९० रुपैयाँ रहेको छ।

यता, बैंकको आधार दर ५.०४ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७९ प्रतिशतबाट घटेर ३.४८ प्रतिशतमा आएको छ। ब्याजदर घटेको वातावरणमा यसले ऋणीका लागि कर्जाको लागत घटाउन सहयोग गर्न सक्छ, तर बैंकको ब्याज आम्दानीको मार्जिनमा भने दबाब सिर्जना हुन सक्छ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ। पूँजीकोष अनुपात १३.२१ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.०४ प्रतिशत रहनुले बैंकको पूँजीगत आधार कायम रहेको देखाउँछ।

1

Scroll to Top