निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा गत आर्थिक वर्षमा उल्लेख्य गिरावट आएको छ । बाढीपहिरो तथा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको प्रभाव र त्यसको पूर्ण रिकभरी हुन नसक्दा कम्पनीहरूको नाफा दबाबमा परेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने यी कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस आधारमा एक वर्षको अवधिमा कम्पनीहरूको समग्र खुद नाफामा ठूलो संकुचन आएको देखिन्छ ।
कम्पनीगत वित्तीय विवरण हेर्दा गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सबाहेक अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घटेको छ । प्राकृतिक विपत्ति तथा अन्य क्षतिका कारण दाबी भुक्तानी बढ्नु, सञ्चालन खर्चमा वृद्धि हुनु तथा विगतका क्षतिको प्रभाव कायम रहनुले कम्पनीहरूको नाफामा दबाब परेको देखिन्छ ।
प्रभु इन्स्योरेन्सले भने गत आर्थिक वर्षमा नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २० करोड ५८ लाख ६० हजार रुपैयाँ थियो ।
गत आवमा राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा नाफा घटे पनि कम्पनीले निर्जीवन बीमा क्षेत्रका ठूला नाफा कमाउने कम्पनीमध्ये आफ्नो स्थान कायम राखेको छ ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफामा पनि उल्लेख्य संकुचन आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.७४ प्रतिशत कम हो । अघिल्लो वर्षको तुलनामा नाफामा आएको गिरावटले कम्पनीको वित्तीय अवस्थामा प्राकृतिक विपत्ति तथा दाबी भुक्तानीको प्रभाव देखिएको छ ।
यता, नेशनल इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको वित्तीय अवस्था कमजोर बनेको देखिन्छ ।
निर्जीवन बीमा कम्पनीहरूको नाफामा आएको गिरावटले बीमा क्षेत्रमा बढ्दो जोखिम र क्षतिपूर्तिको दबाबलाई समेत संकेत गरेको छ । विशेषगरी बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण ठूलो मात्रामा दाबी सिर्जना हुँदा कम्पनीहरूको आम्दानीको तुलनामा दाबी व्यवस्थापन र भुक्तानीको भार बढेको देखिन्छ ।
यद्यपि, बीमा कम्पनीहरूको वित्तीय विवरणमा देखिएको यो गिरावटलाई एकै कारणले मात्र व्याख्या गर्न नसकिने जानकारहरू बताउँछन् । बीमा व्यवसायमा दाबी भुक्तानी, लगानीबाट प्राप्त आम्दानी, पुनर्बीमा व्यवस्था तथा सञ्चालन खर्चलगायतका पक्षले कम्पनीको खुद नाफामा प्रत्यक्ष प्रभाव पार्छन् । आगामी अवधिमा क्षतिको रिकभरी र दाबी व्यवस्थापनमा सुधार आएमा कम्पनीहरूको नाफामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।


