ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३४ प्रतिशतले खुम्चिएको छ ।
गत आवमा कम्पनीको खुद नाफा ३ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो नाफा ४६ लाख ३९ हजार रुपैयाँ रहेको थियो । नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७१ पैसाबाट घटेर मात्र ६ पैसामा सीमित हुन पुगेको छ ।
नाफामा गिरावट आए पनि कम्पनीको मुख्य व्यवसाय बीमा शुल्क आर्जनमा भने आक्रामक सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १० करोड ६६ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको ४ करोड ५८ लाख ६५ हजार रुपैयाँको तुलनामा १३२.५७ प्रतिशतले बढेको छ ।
यसैगरी, कम्पनीको बीमा कोष ३८.६३ प्रतिशतले वृद्धि भई २३ करोड १५ लाख ४० हजार रुपैयाँ कायम भएको छ । कम्पनीको कुल दाबी भुक्तानी १६५.१९ प्रतिशतले बढेर ८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कुल खर्च पनि ४३.९६ प्रतिशतले बढेर १५ करोड ७८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात भने १.९८ रहेको छ ।


