काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ उत्साहजनक सहभागिता र उल्लेख्य व्यावसायिक कारोबारको आधारसहित सम्पन्न भएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्सपोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएको आयोजकले जनाएको छ।
साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको एक्सपोमा सवारीसाधन, विद्युतीय गाडी, मोटरसाइकल तथा मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन र प्रविधि प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनी अवलोकन गर्न आउनेको संख्या अपेक्षाभन्दा बढी भएपछि आयोजक तथा सहभागी कम्पनीहरू उत्साहित भएका छन्।
नाइमा अध्यक्ष रितुसिंह वैद्यले यसपटकको एक्सपो अपेक्षा गरेभन्दा राम्रो र सफल भएको बताइन्। वर्षायामका कारण बीच–बीचमा पानी परे पनि दर्शकको उत्साहमा कमी नआएको उनको भनाइ छ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ अध्यक्ष वैद्यले भनिन्, ‘बर्खाको समयमा पनि अवलोकनकर्ताको उत्साह उल्लेखनीय रह्यो।’
एक्सपोका संयोजक तथा नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो संस्करणको तुलनामा यसपटकको प्रदर्शनी थप व्यवस्थित, आकर्षक र उत्साहपूर्ण बनेको बताए। एक्सपोको तयारीदेखि व्यवस्थापनसम्म निकै मेहनत गर्नुपरे पनि दर्शकको सहभागिता र व्यवसायिक गतिविधिले सबै थकान बिर्साएको उनको भनाइ छ।
नाइमा बोर्ड सदस्य तथा लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले पनि एक्सपोमा उल्लेख्य संख्यामा गाडीको बुकिङ भएको बताए। उनका अनुसार दर्शकहरू गाडी हेर्न मात्र नभई खरिदका लागि समेत गम्भीर देखिएका थिए।
‘छ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएको छ। अब त्यसलाई वास्तविक बिक्रीमा कति रूपान्तरण गर्न सकिन्छ, त्यो हेर्न बाँकी छ,’ श्रेष्ठले भने।
व्यवसायी तथा नाइमा बोर्ड सदस्य आकाश गोल्छाले पनि यसपटकको अटो शोमा देखिएको उत्साह आफूहरूले अपेक्षा नगरेको स्तरको रहेको बताए। सस्तो मूल्यका मोडलदेखि प्रिमियम तथा महँगा गाडीहरूसम्म अवलोकनकर्ताको आकर्षण देखिएको र बुकिङसमेत भएको उनले बताए।
चार पाङ्ग्रेमा ३ हजार २९० बुकिङ
एक्सपोको अन्तिम दिन सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीसाधनतर्फ मात्रै ३ हजार २९० वटा गाडी बुकिङ भएको दाबी गरिएको छ। विभिन्न ब्रान्डका नयाँ मोडल तथा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढेकाले बुकिङ उत्साहजनक देखिएको व्यवसायीहरूले बताएका छन्।
त्यस्तै, दुई पाङ्ग्रे सवारीसाधनतर्फ १ हजार १८० भन्दा बढी बुकिङ तथा बिक्री भएको सहभागी कम्पनीहरूले बताएका छन्। यसले एक्सपो प्रदर्शनीको थलोमा सीमित नरही प्रत्यक्ष व्यावसायिक कारोबारका लागि समेत महत्वपूर्ण बनेको देखाएको छ।
चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी कम्तीमा ४ हजार ४७० भन्दा बढी सवारीसाधनको बुकिङ तथा बिक्री भएको प्रारम्भिक तथ्यांकले देखाउँछ। यद्यपि बुकिङ भएका सबै सवारीसाधन तत्काल बिक्रीमा रूपान्तरण हुने अवस्था भने छैन।
आयोजकका अनुसार एक्सपोमा भएको बुकिङलाई आगामी दिनमा बिक्रीमा रूपान्तरण गर्ने र ग्राहकसँगको सम्पर्कलाई निरन्तरता दिने काम अब सहभागी कम्पनीहरूको प्राथमिकतामा हुनेछ।
समग्रमा, ठूलो संख्यामा अवलोकनकर्ता, नयाँ प्रविधि र मोडलप्रतिको आकर्षण तथा उल्लेख्य बुकिङका कारण दोस्रो नाइमा मोबिलिटी एक्सपो नेपाली अटोमोबाइल बजारका लागि महत्वपूर्ण व्यावसायिक मञ्चका रूपमा स्थापित भएको आयोजकको निष्कर्ष छ।


