लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय गरिएको छ। प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणका दृष्टिले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकको सुरुवात प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएपछि हुनेछ। त्यसपछि मुख्यमन्त्री आचार्यले आफूलाई प्रदेशसभाको विश्वास रहेको भन्ने प्रस्ताव वक्तव्यासहित प्रस्तुत गर्नेछन्।
मुख्यमन्त्रीको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले छलफल गर्नेछन्। छलफलका क्रममा सांसदहरूले सरकारको कार्यशैली, राजनीतिक परिस्थिति, सरकारका प्राथमिकता तथा आगामी कार्यदिशाबारे प्रश्न उठाउन सक्नेछन्। सांसदहरूको धारणा सुनिसकेपछि मुख्यमन्त्री आचार्यले छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनेछन्।
त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नेछन्। मतदानबाट मुख्यमन्त्रीले आवश्यक बहुमत प्राप्त गरेमा उनको नेतृत्वमा प्रदेश सरकार निरन्तर रहनेछ। विश्वासको मत प्राप्त गर्न नसकेमा भने प्रदेश सरकार नयाँ राजनीतिक प्रक्रियातर्फ जाने अवस्था सिर्जना हुनेछ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। समर्थन फिर्ता भएपछि प्रदेश सरकारको बहुमत परीक्षण आवश्यक बनेको हो।
लुम्बिनी प्रदेशसभामा कुल ८३ जना सदस्य छन्। सरकारलाई बहुमत कायम राख्न कम्तीमा ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यही अंक पार गर्न मुख्यमन्त्री आचार्यले विभिन्न दल तथा सांसदको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
मुख्यमन्त्री पक्षले आवश्यक संख्याभन्दा बढी सांसदको समर्थन प्राप्त हुने दाबी गर्दै आएको छ। यद्यपि, प्रदेशसभामा दलहरूको पछिल्लो राजनीतिक समीकरण, समर्थनको अवस्था र मतदानका क्रममा सांसदहरूको उपस्थितिले अन्तिम परिणाम निर्धारण गर्नेछ।
विश्वासको मतको विषय केवल सरकार जोगाउने अंकगणितमा सीमित नभई प्रदेशको आगामी राजनीतिक दिशा तय गर्ने घटनाका रूपमा समेत हेरिएको छ। प्रदेश सरकारमा सहभागी दलबीचको सहकार्य, मन्त्रालयको भागबन्डा, सरकारका नीति तथा कार्यक्रम र आगामी बजेट कार्यान्वयनमा पनि यसको प्रत्यक्ष प्रभाव पर्न सक्नेछ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेमा वर्तमान सरकारलाई राजनीतिक रूपमा थप स्थिरता मिल्नेछ। त्यसपछि प्रदेश सरकारले विकास निर्माण, सेवा प्रवाह र बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बाटो खुल्नेछ। तर, बहुमत जुटाउन कठिन भएमा लुम्बिनीको सत्ता समीकरण फेरि परिवर्तन हुन सक्ने सम्भावना रहनेछ।
प्रदेशसभाको बैठकअघि दलहरूबीचको आन्तरिक छलफल र सांसदहरूको समर्थन सुनिश्चित गर्ने प्रयासलाई पनि तीव्र पारिएको छ। सरकारको पक्षमा कति सांसद उभिन्छन् भन्ने विषयले आगामी दिनमा लुम्बिनीको सत्ता समीकरण कस्तो बन्ने भन्ने संकेतसमेत दिनेछ।
यसअघि पनि प्रदेश सरकारहरूमा समर्थन र समीकरण परिवर्तनका कारण राजनीतिक अस्थिरता देखिँदै आएको अवस्थामा मुख्यमन्त्री आचार्यको विश्वासको मत परीक्षणलाई दीर्घकालीन स्थायित्वसँग जोडेर हेरिएको छ। आजको मतदानले सरकारको वर्तमान संरचना कायम रहने वा नयाँ राजनीतिक समीकरण निर्माण हुने भन्ने टुंगो लगाउनेछ।


