Banijya News

रुपाकोट रिसोर्टले सर्वसाधारणमा आईपीओ जारी गर्ने

1
1.0K Shares

कास्कीको रुपा–६ स्थित रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ । रिसोर्टले आईपीओ निष्कासनका लागि धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको हो ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श तथा अन्य सेवा उपलब्ध गराउने विषयमा एनआईसी एसिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै रिसोर्टलाई सार्वजनिक कम्पनीमा रूपान्तरणदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक प्रक्रिया अघि बढाउन क्यापिटलले सहजीकरण गर्नेछ ।

रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले सेवा विस्तार गर्दै आएको जनाएको छ ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता हुन् । रिसोर्टमा आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन् ।

यसले गर्दा रिसोर्ट पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास भएको छ ।

1

Scroll to Top