विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ ।
सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महशुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टीले आन्दोलन सुरु गरेको हो । उज्यालो नेपालले सुरु गरेको सो अभियान बुधबार पनि काठमाडौंको माइतीघर मण्डलामा चलिरहेको छ ।
सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भएपनि सरकारले जलविद्युत्लाई समृद्धिको आधार बनाउनुको सट्टा जनतालाई थप आर्थिक भार थोपर्ने काम गरेको आरोप लगाए ।
उज्यालो नेपालले विद्युत् महशुलमा लगाइएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी रहेको महशुल उठाउन सरकारले तदारुकता देखाउनुपर्ने माग अघि सारेको छ । सरकारलाई पटक–पटक सुझाव दिँदा पनि बेवास्ता गरिएकाले दबाब सिर्जना गर्न सडकमा उत्रिनुपरेको बताइएको छ ।
जलस्रोतमा धनी देश भएकाले समृद्धिको मुख्य आधार नै जलविद्युत् हो भन्ने सो पार्टीको मान्यता रहेका छ । तर, सरकारले यस क्षेत्रलाई उचित प्राथमिकता दिनुको साटो उल्टै विद्युतमा भ्याट लगाएर सर्वसाधारणलाई मर्कामा पारेको उक्त पार्टीले जनाएको छ ।
माइतीघरबाट शुरु भएको यो हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा विस्तार गरिने पार्टीले जनाएको छ । जनतालाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारी निर्णयको विरुद्धमा सबै नागरिकको समर्थन जुटाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको बताइएको छ ।


