साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनस्वास्थ्य संरक्षणसँगै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन र राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१–२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले संस्थाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर विभिन्न क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्दै आएको बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार, नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुनको नियमित आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले नागरिकमा देखिन सक्ने मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरणमा जिम्मेवार भूमिका निर्वाह गरिरहेको छ ।
हाल कर्पोरेसनले नुन, चिनी, मैदा, पिठो, चामल, दाल र खाने तेललगायत दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ । यसका अतिरिक्त खाना पकाउने ग्यास तथा छापाखानाका लागि आवश्यक कागजसमेत आपूर्ति गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
उनले साल्ट ट्रेडिङ दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सीमित नरही कृषि, उद्योग तथा निर्माण क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन निरन्तर क्रियाशील रहेको बताए ।
उपभोक्तालाई राहत दिने उद्देश्यले राष्ट्रिय चाडपर्वका अवसरमा सञ्चालन हुँदै आएका सहुलियत मूल्य पसललाई आगामी दिनमा समेत निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।
कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै कर्पोरेसनले रासायनिक मलसँगै आफ्नै पहलमा गैर–रासायनिक मलसमेत आयात गरी किसानलाई उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए ।
प्राकृतिक प्रकोप तथा अन्य विपत्तिका समयमा अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न संस्थाले खेल्दै आएको भूमिकालाई आगामी दिनमा थप प्रभावकारी बनाइने उनको भनाइ छ ।
यसका लागि उपभोक्ता हित, आपूर्ति व्यवस्थापन र राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राखेर संस्थाको सेवा विस्तार गरिने उनले बताए ।


