नाडा अटो शो २०२४ को उद्घाटन समारोह केवल सवारीसाधन प्रदर्शनीको सुरुवातमा सीमित रहेन, यसले मुलुकको अर्थतन्त्र, उद्योग–व्यवसाय र निजी क्षेत्रको वर्तमान अवस्थाबारे गम्भीर बहस पनि जन्मायो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले समारोहमा सम्बोधन गर्दै अर्थतन्त्र सुस्त बन्दै गएको, बजारमा माग घटेको र निजी क्षेत्रको मनोबल अभूतपूर्व रूपमा खस्किएको भन्दै सरकारलाई स्पष्ट सन्देश दिएका छन्।
व्यवसायी समुदायको प्रतिनिधित्व गर्दै उनले अहिलेको आर्थिक अवस्था आफ्नो तीन दशकभन्दा लामो व्यावसायिक जीवनकै सबैभन्दा चुनौतीपूर्ण रहेको बताए। “३६ वर्षको व्यावसायिक यात्रामा यति कमजोर मनोबल र यति निराश निजी क्षेत्र मैले कहिल्यै देखेको थिइनँ,” उनले भने। बजारमा उपभोग घट्दा उद्योग, व्यापार र सेवा क्षेत्र सबै प्रभावित भएको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई पुनर्जीवित गर्न तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताए।
अध्यक्ष श्रेष्ठले नयाँ सरकारले सार्वजनिक गरेका आर्थिक लक्ष्यहरूलाई सकारात्मक रूपमा लिएको बताए। प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने तथा १२ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि ती लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना, ठोस रणनीति र कार्यान्वयन क्षमता आवश्यक रहेको उनको भनाइ थियो।
उनले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै केवल घोषणा र प्रतिबद्धताले मात्र अर्थतन्त्र चल्न नसक्ने बताए। “लक्ष्य निर्धारण गर्नु महत्त्वपूर्ण हो, तर त्यो लक्ष्यमा पुग्ने मार्गचित्र अझ महत्त्वपूर्ण हुन्छ,” उनले संकेत गरे।
नेपालको अर्थतन्त्र अहिले सामान्य सुधारभन्दा पनि संरचनागत परिवर्तनको चरणमा पुगेको भन्दै श्रेष्ठले ‘रि–इन्जिनियरिङ’ आवश्यक रहेको धारणा व्यक्त गरे। बजेटमार्फत गरिएका धेरै घोषणाहरू कार्यान्वयनका लागि आवश्यक नीति, योजना र स्पष्ट रणनीति अभावमा अल्झिने जोखिम रहेको उनको विश्लेषण थियो।
सम्बोधनका क्रममा उनले अटोमोबाइल क्षेत्रको आर्थिक योगदानबारे पनि तथ्य प्रस्तुत गरे। उनका अनुसार गत आर्थिक वर्षमा १०६ अर्ब रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए, जसबाट राज्यले करिब ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। कुल राजस्वको ८ देखि ९ प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्रलाई राज्यले केवल आयातमुखी उद्योगका रूपमा नभई औद्योगिक विकासको सम्भावित आधारका रूपमा हेर्नुपर्ने उनले बताए।
श्रेष्ठले सवारीसाधन तथा पार्टपुर्जाको ठूलो आयातलाई अवसरमा बदल्न सकिने उल्लेख गरे। नेपालमै एसेम्बल उद्योग विस्तार गर्ने, स्पेयर पार्ट्स उत्पादनलाई प्रोत्साहन गर्ने र आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न सके वैदेशिक मुद्रा बचतसँगै रोजगारी सिर्जनामा पनि योगदान पुग्ने उनको विश्वास थियो। हाल वार्षिक २० देखि २२ अर्ब रुपैयाँ बराबरका स्पेयर पार्ट्स आयात भइरहेको उल्लेख गर्दै त्यसको ठूलो हिस्सा स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको उनले बताए।
सरकारले नयाँ उद्योग स्थापना गर्ने योजनालाई स्वागतयोग्य भन्दै उनले सञ्चालनमा रहेका उद्योगहरूको संरक्षण अझ महत्वपूर्ण रहेको धारणा राखे। “भुईँको टिप्न खोज्दा पोल्टाको खस्ला” भन्ने उखान स्मरण गराउँदै उनले वर्षौँदेखि बन्द उद्योग पुनः सञ्चालन गर्ने योजनासँगै अहिले चलिरहेका उद्योगहरूको समस्या समाधानमा पनि ध्यान दिन आग्रह गरे।
उनले स्वदेशी उत्पादनलाई दिगो बनाउने, औद्योगिक वातावरण सुधार गर्ने र ‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’ जस्ता अवधारणालाई प्रोत्साहन गर्न सके मात्र सरकारले तय गरेका आर्थिक लक्ष्यहरू व्यवहारमा रूपान्तरण हुन सक्ने बताए।
नाडा अटो शोको मञ्चबाट आएको अध्यक्ष श्रेष्ठको सन्देश स्पष्ट थियो—निजी क्षेत्र निराश छ, तर अझै पनि आशा मरेको छैन। सरकारले नीति र व्यवहारबीचको दूरी घटाउन सके निजी क्षेत्र देशको आर्थिक रूपान्तरणको साझेदार बन्न तयार छ।

