नेपालका वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार २०८३ असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा कुल ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् ।
ऊर्जा क्षेत्रमा बैंकहरूको लगानी बढ्दै गए पनि सबै बैंकको प्राथमिकता भने समान देखिएको छैन । रकमका आधारमा नबिल बैंक सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ भने आफ्नो कुल कर्जामा ऊर्जा क्षेत्रको हिस्सा हेर्दा कुमारी बैंक अगाडि देखिएको छ ।
विवरणअनुसार, नबिल बैंकले ऊर्जा क्षेत्रमा ५३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ । यो बैंकको कुल कर्जाको करिब ११ प्रतिशत हो । कुमारी बैंकले भने ५२ अर्ब ६० करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेको छ । तर, उसको कुल कर्जामा ऊर्जा क्षेत्रको हिस्सा १७ दशमलव ४० प्रतिशत पुगेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३६ अर्ब ४८ करोड, लक्ष्मी सनराइज बैंकले ३४ अर्ब १२ करोड, ग्लोबल आइएमई बैंकले ३२ अर्ब ९ करोड, एनएमबी बैंकले ३० अर्ब ६८ करोड र सानिमा बैंकले ३० अर्ब ४५ करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।
एभरेष्ट बैंकको ऊर्जा क्षेत्रमा २७ अर्ब ६७ करोड, राष्ट्रिय वाणिज्य बैंकको २७ अर्ब ४० करोड, प्राइम कमर्सियल बैंकको २६ अर्ब ८७ करोड र सिटिजन्स बैंकको २४ अर्ब १६ करोड रुपैयाँ लगानी रहेको छ ।
सिद्धार्थ बैंकले २२ अर्ब ३९ करोड, प्रभु बैंकले १९ अर्ब ८८ करोड, हिमालयन बैंकले १८ अर्ब २५ करोड, नेपाल बैंकले १७ अर्ब ४७ करोड र माछापुच्छ्रे बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।
कृषि विकास बैंकको १३ अर्ब ७६ करोड, नेपाल एसबिआई बैंकको ११ अर्ब ७२ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५ अर्ब ७५ करोड रुपैयाँ लगानी छ । एनआईसी एसिया बैंकको लगानी भने सबैभन्दा कम २ अर्ब २५ करोड रुपैयाँ छ, जुन उसको कुल कर्जाको १ दशमलव ०७ प्रतिशत मात्रै हो ।
२० बैंकमध्ये १२ वटाको ऊर्जा क्षेत्रमा लगानी समग्र औसतभन्दा कम छ भने ८ बैंकको लगानी औसतभन्दा माथि छ । यसले ऊर्जा क्षेत्रमा बैंकिङ लगानी केही बैंकमा बढी केन्द्रित रहेको देखाउँछ ।
नेपाल राष्ट्र बैंकले २०८५ असार मसान्तसम्म सबै वाणिज्य बैंकले आफ्नो कुल कर्जाको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले लक्ष्यभन्दा तल रहेका बैंकमाथि आगामी दुई वर्षभित्र ऊर्जा क्षेत्रमा कर्जा विस्तार गर्न थप दबाब पर्ने देखिएको छ ।

