Banijya News

त्रिशूली–३ ‘ए’ सुरुङबाट आशाको किरण: थप एक जनाको जीवित उद्धार

1
1.1K Shares

रसुवाको भोटेकोशी क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार अभियानमा महत्वपूर्ण सफलता हासिल भएको छ। खोज तथा उद्धारमा संलग्न टोलीले सुरुङभित्रबाट थप एक जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो।

उद्धार कार्यमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार पछिल्लो उद्धारसँगै जीवितै भेटिएका व्यक्तिको संख्या दुई पुगेको छ। यसअघि पनि एक जनालाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। बाढीपछि सुरुङभित्र फसेकाहरूको अवस्थाबारे अनिश्चितता बढिरहेका बेला लगातार दुई जनाको जीवित उद्धार हुनुले परिवारजन र उद्धारकर्मीहरूमा नयाँ आशा जगाएको छ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली निरन्तर रूपमा सुरुङभित्र खोजी अभियान सञ्चालन गरिरहेको छ। कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण वातावरणका बीच उद्धारकर्मीहरूले उच्च सतर्कताका साथ काम गरिरहेका छन्।

आज बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको जानकारी पनि सार्वजनिक भएको थियो। इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्र जीवनको संकेत भेटिएको बताएका थिए। त्यसलगत्तै गरिएको खोजीमा थप एक जनाको सफल उद्धार भएको हो।

1

Scroll to Top