Banijya News

निर्जीवन बीमाको व्यवसायमा उछाल, साउनमै संकलन भयो ५ अर्ब ३२ करोड प्रिमियम

1
1.1K Shares

निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै ५ अर्ब रुपैयाँभन्दा बढीको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साउन महिनामा निर्जीवन बीमकहरूले कुल ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । यस आधारमा चालु आवको साउनमा निर्जीवन बीमा व्यवसाय २३.३९ प्रतिशतले वृद्धि भएको हो ।

व्यवसाय वृद्धिका आधारमा एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले गत आवको साउनको तुलनामा आफ्नो व्यवसाय ५५.३७ प्रतिशतले वृद्धि गरेको छ । रकमका आधारमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम संकलन गरेको छ । कम्पनीले साउनमा ५६ करोड २५ लाख रुपैयाँ प्रिमियम उठाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ५४.०१ प्रतिशत बढी हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड ३२ लाख, एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख, शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

आईजीआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख, नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ संकलन गरेका छन् ।

यसैगरी, नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख, सानिमा जीआईसीले २४ करोड ३ लाख, राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । साउनमै अधिकांश निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार देखिनुले बीमा बजारमा सकारात्मक सुरुवात भएको संकेत गरेको छ ।

1

Scroll to Top