गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्ने सूचीकृत कम्पनी तथा म्युचुअल फन्डको संख्या बढ्दै गएको छ । भदौ १९ गते शुक्रबार बिहानसम्म १० वटा सूचीकृत कम्पनी र २१ वटा म्युचुअल फन्डले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने संस्थामध्ये गरिमा विकास बैंक सबैभन्दा धेरै प्रतिफल दिने संस्था बनेको छ । बैंकले गत आर्थिक वर्षको १०.५३ प्रतिशत लाभांशको तुलनामा यस वर्ष उल्लेख्य वृद्धि गर्दै १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत प्रतिफल घोषणा गरेको हो ।
कम्पनीहरूको लाभांश प्रदर्शन भने मिश्रित देखिएको छ । केही कम्पनीले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने केहीको प्रतिफल घटेको छ । विकास बैंक, जलविद्युत् तथा वाणिज्य बैंक समूहका केही कम्पनीले बोनस सेयर र नगद लाभांशको संयोजनमार्फत लगानीकर्तालाई आकर्षक प्रतिफल दिने प्रयास गरेका छन् ।
गरिमा विकास बैंकपछि सुपर मादी हाइड्रोपावरले लाभांशमा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले अघिल्लो वर्ष ५.२६ प्रतिशत लाभांश दिएकोमा यस वर्ष १५ प्रतिशत बोनस सेयरसहित कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै कामना सेवा विकास बैंक ले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
मान्डु हाइड्रोपावरले अघिल्लो वर्षको १० प्रतिशतबाट बढाएर यस वर्ष १२ प्रतिशत नगद लाभांश दिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयरसहित कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
वाणिज्य बैंकतर्फ भने केहीको लाभांश घटेको छ । एभरेस्ट बैंकले अघिल्लो वर्ष २० प्रतिशत लाभांश दिएकोमा यस वर्ष ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत घोषणा गरेको छ । यसको विपरीत ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको ८ प्रतिशतबाट बढाएर ६ प्रतिशत बोनस सेयरसहित कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । सानिमा बैंकले पनि अघिल्लो वर्षको ७.३७ प्रतिशतको तुलनामा सुधार गर्दै १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
फाइनान्स समूहमा आईसीएफसी फाइनान्सको लाभांश अघिल्लो वर्षको १५.७९ प्रतिशतबाट घटेर १०.५२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश पनि ६.३२ प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ ।
म्युचुअल फन्डमा प्रतिफल खस्कियो
सूचीकृत कम्पनीहरूको तुलनामा म्युचुअल फन्डको लाभांश अवस्था निराशाजनक देखिएको छ । लाभांश घोषणा गरेका २१ फन्डमध्ये तीन वटा खुलामुखी र १८ वटा बन्दमुखी रहेका छन् । सेयर बजारको उतारचढावका कारण अधिकांश फन्डले अघिल्लो वर्षको प्रतिफल कायम राख्न सकेका छैनन् ।
बन्दमुखी फन्डतर्फ सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले अघिल्लो वर्ष २० प्रतिशत लाभांश दिएकोमा यस वर्ष ८ प्रतिशत मात्र घोषणा गरेको छ । सानिमा ग्रोथ फन्ड को लाभांश १५.७९ प्रतिशतबाट घटेर ५ प्रतिशतमा र एनएमबी ५० को १५ प्रतिशतबाट ३.१५ प्रतिशतमा झरेको छ । कुमारी सबल योजना को प्रतिफल पनि ९ प्रतिशतबाट घटेर २.९ प्रतिशतमा सीमित भएको छ ।
यद्यपि, केही बन्दमुखी फन्डले भने सुधार गरेका छन् । हिमालयन ८०–२० ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ भने प्रभु स्मार्ट फन्ड ले अघिल्लो वर्षको १० प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्याएको छ । प्रभु सेलेक्ट फन्ड ले लगातार दोस्रो वर्ष पनि १२ प्रतिशत लाभांश कायम राखेको छ ।
खुलामुखी फन्डतर्फ एनएमबी सरल बचत फन्ड–ईले मात्र अघिल्लो वर्षको ४.२७ प्रतिशतबाट बढाएर ५.२५ प्रतिशत प्रतिफल दिन सफल भएको छ । कुमारी सुनौलो लगानी योजनाको लाभांश ८.८८ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम को ८ प्रतिशतबाट घटेर ३ प्रतिशतमा सीमित भएको छ ।
समग्रमा, गत वर्षको मुनाफाबाट केही सूचीकृत कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने संकेत गरे पनि म्युचुअल फन्डहरूको औसत प्रदर्शन भने अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ ।

