Banijya News

देउवा समूहमा रणनीतिक संकट : निष्क्रिय बन्दै पूर्णबहादुर खड्का, गगनसँग बढ्यो संवाद

1
1.1K Shares

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व गुमाएपछि शेरबहादुर देउवा समूहभित्र देखिएको राजनीतिक असमञ्जस थप गहिरिँदै गएको छ। विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसविरुद्ध निरन्तर सक्रिय रहेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय आफ्नै समूहका गतिविधिबाट टाढिन थालेपछि देउवा पक्षभित्र नयाँ रणनीतिक अन्योल देखिएको हो।

साउन अन्तिम साता देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलासम्म खड्का विशेष महाधिवेशनका पक्षधरप्रति निकै आक्रामक थिए। उनले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपसी सहमतिमा विशेष महाधिवेशन गरेको आरोप लगाउँदै त्यसलाई पार्टी विधानविपरीत र अवैधानिक भएको दाबी गरेका थिए।

तर राष्ट्रिय भेलापछि भने खड्काको राजनीतिक सक्रियता एकाएक घटेको छ। उनी देउवा पक्षका बैठक, भेला तथा समानान्तर कार्यक्रममा देखिएका छैनन्। कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफल गर्न बसेको पछिल्लो बैठकमा समेत उनी सहभागी भएनन्।

देउवा समूहभित्र खड्काको यो निष्क्रियतालाई सामान्य राजनीतिक विश्रामका रूपमा मात्र हेरिएको छैन। कतिपय नेताहरूले यसलाई आगामी १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर खड्काले नयाँ राजनीतिक समीकरण बनाउन थालेको संकेतका रूपमा समेत व्याख्या गरेका छन्।

कांग्रेसका केही नेताका अनुसार खड्का पछिल्लो समय पार्टी सभापति गगन थापासँग नजिकिएका छन्। उनीहरूबीच नियमित संवाद र छलफल भइरहेको दाबी स्रोतहरूको छ। खड्का संस्थापन अर्थात् गगन नेतृत्वकै समूहमा बसेर आगामी महाधिवेशनमा आफ्नो राजनीतिक भूमिका सुरक्षित गर्ने रणनीतिमा रहेको नेताहरूको बुझाइ छ।

यद्यपि खड्काको अन्तिम राजनीतिक रणनीति भने स्पष्ट भइसकेको छैन। कांग्रेसभित्र चलेको चर्चाअनुसार उनी आगामी महाधिवेशनमा गगन थापाविरुद्ध सभापतिको उम्मेदवार बन्न सक्ने सम्भावना पनि छ। यदि सभापतिमा प्रतिस्पर्धा गरेर सफल हुन नसके वरिष्ठ नेताको भूमिकामा बस्ने विकल्पसमेत उनले सोचिरहेको दाबी केही नेताहरूको छ।

देउवा पक्षका एक नेताले खड्काको पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय भेलापछि उनले समानान्तर गतिविधि अघि नबढाउने संकेत दिएको बताए।

“राष्ट्रिय भेलापछि उहाँले अर्को पार्टी बनाउँदिनँ र समानान्तर गतिविधि पनि गर्दिनँ भन्नुभयो। त्यसपछि उहाँ सक्रिय देखिनुभएको छैन,” ती नेताले भने, “यसले समूहका नेता–कार्यकर्तामा अन्योल सिर्जना गरेको छ।”

शशांकलाई जिम्मेवारी दिएपछि बढ्यो असन्तुष्टि

देउवा पक्षको राष्ट्रिय भेलाले नेता शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरेको थियो। तर यो निर्णयमा खड्का असन्तुष्ट रहेको बताइन्छ।

देउवा पक्षभित्र खड्कालाई नै महाधिवेशनको तयारीको प्रमुख जिम्मेवारी दिनुपर्ने अपेक्षा थियो। तर उनले राष्ट्रिय भेलापछि आफू तटस्थ रहने संकेत दिएपछि शशांक कोइरालालाई जिम्मेवारी दिनुपरेको समूहका नेताहरू बताउँछन्।

यसले खड्का र देउवा समूहका अन्य नेताबीच दूरी बढेको उनीहरूको भनाइ छ। महाधिवेशनको तयारीसँगै पार्टीको संगठनात्मक संरचना, क्रियाशील सदस्यता अद्यावधिक र जिल्ला तहसम्मको शक्ति सन्तुलन महत्वपूर्ण बन्ने अवस्थामा खड्काको निष्क्रियताले देउवा समूहलाई थप कमजोर बनाउन सक्ने आकलनसमेत हुन थालेको छ।

अदालतको आदेशपछि बदलिए खड्का

खड्काको पछिल्लो राजनीतिक व्यवहार बुझ्न कांग्रेसको आधिकारिकता विवाद पनि महत्वपूर्ण मानिएको छ। विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि त्यसविरुद्ध खड्का सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतबाट पनि गगन पक्षकै पक्षमा फैसला आएपछि खड्काले पुनरवलोकनको माग गर्दै अदालतको ढोका ढकढक्याएका थिए। सर्वोच्चले पुनरवलोकनका लागि निस्सा दिएपछि भने देउवा पक्षमा नयाँ आशा पैदा भएको थियो।

त्यही उत्साहका साथ खड्का राष्ट्रिय भेलामा सहभागी भएको देउवा पक्षका नेताहरूको भनाइ छ। तर अदालतको अन्तिम परिणाम आफ्नो पक्षमा आए पनि छुट्टै पार्टी गठन गरेर अघि बढ्ने विषयमा खड्का स्पष्ट रूपमा अगाडि नबढेको उनीहरूको आरोप छ।

देउवा पक्षका एक नेताले खड्काको पछिल्लो व्यवहारलाई विगतको एउटा राजनीतिक घटनासँग तुलना गर्दै कठिन अवस्थामा अलग संगठन निर्माण गरेर अघि बढ्ने आत्मविश्वास उनले देखाउन नसकेको टिप्पणी गरे।

कार्यकर्तामा ‘धोका’ को अनुभूति

देउवा पक्षमा अहिले खड्काप्रति असन्तुष्टि बढ्नुको अर्को कारण क्रियाशील सदस्यता अद्यावधिकसँग जोडिएको छ। समूहका केही नेताहरूका अनुसार खड्काले कार्यकर्तालाई क्रियाशील सदस्यता अद्यावधिक नगर्न आग्रह गरेको भए पनि अहिले स्वयं विशेष महाधिवेशनबाट बनेको नेतृत्वसँग संवाद बढाएको आरोप लागेको छ।

यसले देउवा पक्षका नेता–कार्यकर्तामा आफूहरूलाई राजनीतिक रूपमा प्रयोग गरिएको अनुभूति पैदा गरेको उनीहरूको भनाइ छ।

“हामी आधिकारिक हौँ भन्दै अदालत जानुभयो। गगनजीहरूलाई अदालतले जितेपछि बधाई पनि दिनुभयो। त्यसपछि क्रियाशील सदस्यता अद्यावधिक नगर्न कार्यकर्तालाई भन्नुभयो,” देउवानिकट एक नेताले भने, “तर अहिले उहाँ आफैँ तटस्थ जस्तो देखिनुभएको छ।”

देउवा पक्षका प्रचार समिति संयोजक मीन विश्वकर्माले पनि राष्ट्रिय भेलापछि खड्का समानान्तर गतिविधिमा सक्रिय नरहेको स्वीकार गरेका छन्। उनका अनुसार आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेकाले खड्का थप गतिविधि नगरी तटस्थ बस्न खोजेको हुनसक्छ।

कांग्रेस विभाजनको जोखिम कति ?

यसबीच कांग्रेसभित्र दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका अघि बढाउन थालेपछि पार्टी विभाजनको सम्भावनाबारे चर्चा तीव्र भएको छ।

गगन थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाइरहेको अवस्थामा देउवा पक्षले पनि १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी थालेको छ। दुवै पक्षले आफूलाई वैधानिक कांग्रेस भएको दाबी गर्दै गतिविधि अघि बढाएमा विवाद केन्द्रमा मात्र सीमित नरही प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न सक्ने नेताहरूको चिन्ता छ।

विश्वकर्माका अनुसार अदालतले एउटा पक्षलाई महाधिवेशन गर्न रोक्ने अन्तरिम आदेश नदिएपछि आफूहरूले पनि आफ्नोतर्फबाट महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको हो।

उनका अनुसार कांग्रेसको अन्तिम राजनीतिक स्वरूप भने सर्वोच्च अदालतको आगामी फैसलाले निर्धारण गर्नेछ।

यदि अदालतको फैसलापछि एक पक्षले अर्को पक्षलाई समेटेर अघि बढ्ने प्रयास गरेमा पार्टी एकता कायम रहन सक्छ। तर दुवै पक्षले आ–आफ्नै संगठन र नेतृत्वलाई वैधानिक मान्ने अवस्था बनेमा कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ जाने खतरा बढ्ने देखिन्छ।

१५औँ महाधिवेशनले निर्धारण गर्ने शक्ति-समीकरण

अब कांग्रेसको आन्तरिक राजनीति केवल देउवा र गगनबीचको प्रतिस्पर्धामा सीमित रहने देखिँदैन। पूर्णबहादुर खड्काजस्ता प्रभावशाली नेताहरू कुन पक्षमा उभिन्छन् भन्ने कुराले पनि आगामी शक्ति-समीकरण प्रभावित पार्नेछ।

खड्का देउवाका विश्वासपात्रका रूपमा लामो समयदेखि स्थापित नेता हुन्। उनलाई देउवाले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका थिए। त्यसैले उनी समूहबाट टाढिँदै गएको अवस्थामा देउवा पक्षको संगठनात्मक प्रभावमा असर पर्न सक्ने कांग्रेसभित्र चर्चा छ।

अर्कोतर्फ, खड्का गगन समूहमा प्रवेश गरे वा संस्थापन पक्षसँग सहकार्य गरे भने उनको व्यक्तिगत राजनीतिक भविष्यसँगै आगामी महाधिवेशनको समीकरण पनि नयाँ ढंगले निर्माण हुन सक्छ।

यही कारण अहिले कांग्रेसभित्र खड्काको निष्क्रियतालाई सामान्य राजनीतिक मौनताभन्दा पनि आगामी नेतृत्वको तयारीसँग जोडेर हेर्न थालिएको छ। उनी कुन पक्षमा उभिन्छन्, सभापतिमा उम्मेदवारी दिन्छन् वा कुनै नयाँ समझदारीमा पुग्छन् भन्ने विषयले १५औँ महाधिवेशनअघि कांग्रेसको शक्ति-सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिन्छ।

1

Scroll to Top