Banijya News

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, अझै ३ हजार ९९२ जना सम्पर्कविहीन

1
1.1K Shares

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले बाढीमा अकालमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज सरकारी कार्यालयमा नियमित कामसँगै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिँदै छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ। यद्यपि, विपत्तिको वास्तविक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन। बाढीपछि ३ हजार ९९२ जना अझै सम्पर्कविहीन रहेका छन्। यसले खोजी तथा उद्धार अभियान अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखाएको छ।

फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिला छन्। थप ४९५ शव भने पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। सम्पर्कविहीनमध्ये नेपाली नागरिकतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। विदेशी नागरिकतर्फ पनि २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीले ठूलो मानवीय क्षतिसँगै प्रभावित क्षेत्रमा भौतिक संरचना, सडक, पुल, विद्युत् तथा सञ्चार पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ। दुर्गम तथा नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न कठिनाइ भइरहे पनि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली निरन्तर परिचालित छन्।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ४४ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ। पहिचान हुन नसकेका शवको सनाखत गर्न प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ।

हालसम्म मृतक १ हजार १८१ जना तथा उनीहरूका आफन्त १ हजार १९५ जनासहित २ हजार ३७६ जनाको डीएनए नमूना सङ्कलन गरिएको छ। यसबाट पहिचानविहीन शवको सनाखत गरी परिवारसम्म जानकारी पुर्‍याउने प्रयास भइरहेको छ।

बाढीपछि ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय शोकको यो दिन सरकारले बाढीपीडित परिवारको राहत, पुनर्स्थापना र बेपत्ताको खोजीलाई अझ प्रभावकारी बनाउनुपर्ने दबाब पनि बढेको छ। हजारौँ परिवार अझै आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित रहेकाले खोजी, शव पहिचान र पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।

1

Scroll to Top