नेपाल–चीन उत्तरी सीमा नाकामध्ये महत्वपूर्ण मानिएको कोरला नाकालाई थप व्यवस्थित र सक्रिय बनाउन मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिने भएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट हुने आयात–निर्यातलाई सहज बनाउन सरकारले यहाँ जनशक्ति थप गर्न लागेको हो।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयका लागि छ जना कर्मचारी काजमा खटाउने अन्तिम तयारी गरेको छ। विभागले तीन जना अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी कोरला नाकामा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए। कर्मचारी खटाउने प्रक्रिया अन्तिम चरणमा पुगे पनि लगातार परेको बिदाका कारण उनीहरू कार्यस्थलमा पुग्न केही ढिलाइ भएको उनको भनाइ छ।
“तीन–तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ, लगातारको बिदाले उहाँहरू आउन ढिलाइ भएको हो,” भन्सार प्रमुख चुडालले भने, “कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नुहुन्छ।”
मुस्ताङ भन्सार कार्यालयमा कुल १८ जनाको दरबन्दी रहेको छ। तर हाल कार्यालयमा १२ जना कर्मचारी मात्रै कार्यरत छन्। रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकाबाट मालवस्तुको आयात–निर्यात बढ्ने सम्भावना रहेकाले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न लागिएको भन्सार कार्यालयले जनाएको छ।
रसुवागढी र तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि प्रभावित भएपछि चीनसँगको व्यापारका लागि कोरला नाका वैकल्पिक मार्गका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी रसुवागढी–केरुङ नाका बन्द भएर त्यहाँ रोकिएका सामग्रीलाई कोरला नाकातर्फ फिर्ता पठाउन थालिएपछि मुस्ताङ भन्सार तथा क्वारेन्टाइन कार्यालयको भूमिकासमेत बढेको छ।
भन्सार प्रमुख चुडालका अनुसार कोरला नाकातर्फ अहिले दैनिक ५० भन्दा बढी कन्टेनर मालवस्तु पैठारीका लागि आउन थालेका छन्। यसअघि सीमित अवधिमा मात्रै सञ्चालन हुने गरेको नाकामा अहिले व्यापारिक गतिविधि बढ्दै गएपछि भन्सार कार्यालयलाई आवश्यक जनशक्ति, पूर्वाधार तथा अन्य व्यवस्थापनको आवश्यकता देखिएको हो।
उनका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आउनुअघि उपल्लो मुस्ताङका नागरिकका लागि वर्षमा दुई पटक सीमित समयका लागि अन्तरदेशीय अल्पकालीन हाटबजार सञ्चालन हुने गरेको थियो। सो समयमा मात्रै भन्सार कार्यालय केही समय सक्रिय हुने भएकाले त्यहाँ न्यून संख्यामा कर्मचारी खटिने गरेका थिए।
“कोरला नाका पूर्ण रूपमा सञ्चालन नभई उपल्लो मुस्ताङका नागरिकलाई मात्रै अन्तरदेशीय अल्पकालीन हाटबजार लाग्दा मात्रै बर्सेनि दुई पटक सीमित समय भन्सार कार्यालय सक्रिय हुन्थ्यो। सो समयमा कम कर्मचारी मात्रै भन्सारमा हुन्थे,” चुडालले भने।
विसं २०८२ भदौ ३१ गतेदेखि मुस्ताङको कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालन गरिएपछि भने भन्सार कार्यालयमा जनशक्ति थप गर्न थालिएको उनले बताए। अहिले रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकामा थप चाप पर्ने देखिएको छ।
भन्सारसँगै न्हेचुङमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पनि सक्रिय बनाउन थालिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारी मुस्ताङ पठाइसकेको छ। रसुवागढी–केरुङ नाका हुँदै चीनबाट आएका र अहिले कोरला नाकातर्फ पठाइएका सयौँ कन्टेनरमा फलफूललगायत कृषि सामग्री रहेकाले तिनको क्वारेन्टाइन परीक्षण गर्न कर्मचारी थप गरिएको हो।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार क्वारेन्टाइनका लागि तीन जना कर्मचारी जोमसोम आइपुगेका छन्। केन्द्रले भन्सार विभागसँगको समन्वयमा एक जना वरिष्ठ बाली संरक्षण अधिकृत र एक जना कम्प्युटर अपरेटरसहित कर्मचारी काजमा मुस्ताङ पठाएको उनले जानकारी दिइन्।
न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालय विसं २०६२/६३ मा स्थापना भएको हो। कार्यालय स्थापना भए पनि लामो समयदेखि आवश्यक दरबन्दीअनुसार कर्मचारी तथा क्वारेन्टाइन परीक्षणका लागि आवश्यक उपकरणको अभाव रहँदै आएको थियो। कार्यालयमा पाँच जनाको दरबन्दी भए पनि हालसम्म एक जना प्राविधिक सहायक मात्रै कार्यरत थिए।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द हुनु तथा तातोपानी नाका पनि अपेक्षित रूपमा सञ्चालनमा आउन नसक्नुले कोरला नाकाको महत्व बढेको भन्सार कार्यालयले जनाएको छ। विशेषगरी फलफूल तथा अन्य कृषि सामग्री बोकेका कन्टेनरको आवागमन बढेपछि क्वारेन्टाइन परीक्षणलाई प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक भएको हो।
भन्सार प्रमुख चुडालका अनुसार क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्न विभागबाट निर्देशनसमेत प्राप्त भइसकेको छ। थप कर्मचारीको व्यवस्थापनसँगै भन्सार र क्वारेन्टाइन दुवै कार्यालयको सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यद्यपि कर्मचारी थपिए पनि कोरला नाकामा आवास तथा भौतिक पूर्वाधारको समस्या भने चुनौतीका रूपमा रहेको छ। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा रहेको नाकामा पर्याप्त कार्यालय भवन, कर्मचारी आवासलगायत सुविधा नहुँदा थप जनशक्तिको व्यवस्थापन गर्न कठिनाइ हुने भन्सार कार्यालयले जनाएको छ।


