त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीहरूको खोजी प्रभावकारी बनाउन माग गर्दै पीडित परिवार तथा आफन्तहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले बाढी गएको लामो समय बितिसक्दा पनि बेपत्ता आफ्ना आफन्तको अवस्था पत्ता लाग्न नसकेको भन्दै सरकार र सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लगाउँदै अभियानलाई थप तीव्र, व्यवस्थित र परिणाममुखी बनाउन माग गरेका छन् ।
माइतीघरमा भेला भएका परिवारजनले ‘आफन्तको खोजी कहिलेसम्म ?’, ‘हाम्रा मान्छे कहाँ छन् ?’ जस्ता प्रश्नसहित राज्यले बेपत्ता व्यक्तिको यथार्थ अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग राखेका छन् ।
उनीहरूले सम्भावित सबै स्थानमा प्रविधि, दक्ष जनशक्ति र आवश्यक उपकरण परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । विपद्पछि उद्धार तथा राहतमा राज्य सक्रिय देखिए पनि बेपत्ता व्यक्तिको खोजीमा उस्तै प्राथमिकता नदिइएको उनीहरूको गुनासो छ ।
परिवारजनका अनुसार लामो समयसम्म कुनै ठोस जानकारी नपाउँदा आफन्तहरू मानसिक तनाव र अनिश्चिततामा बस्न बाध्य भएका छन् । जीवित वा मृत भन्ने अवस्थासमेत यकिन हुन नसक्दा परिवारको पीडा थप गहिरिँदै गएको उनीहरूको भनाइ छ ।
पीडित परिवारले बेपत्ताहरूको अवस्थाबारे आधिकारिक र नियमित सूचना सार्वजनिक गर्न तथा खोजी अभियानको प्रगतिबारे परिवारलाई निरन्तर जानकारी गराउनसमेत माग गरेका छन् ।
प्रदर्शनमा त्रिशूली–३ बी आयोजनामा बेपत्ता भएका कर्मचारीका परिवार, आफन्त तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको छ । प्रदर्शनकारीहरूले आफ्ना आफन्तको खोजी निष्कर्षमा नपुगेसम्म सरकारमाथि दबाब सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।


