Banijya News

कुमारी बैंक पीसीएएफमा आबद्ध, कर्जा तथा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

1
1.1K Shares

कुमारी बैंक लिमिटेड पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यले पीसीएएफको सदस्यता लिएको हो ।

पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने जनाएको छ । यसका लागि पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएका मापदण्ड तथा विधि प्रयोग गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार, यो पहलले जलवायु सम्बन्धी तथ्यांक संकलन, जोखिम व्यवस्थापन र दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । साथै, बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझेर त्यसबाट प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी रणनीति निर्माणमा उपयोग गर्ने लक्ष्य लिएको छ ।

न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले पीसीएएफमा आबद्धता बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए । वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यांकमा आधारित जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो र उत्थानशील अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो । यसले वित्तीय संस्थाहरूलाई ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न साझा ढाँचा उपलब्ध गराउँदै आएको छ । सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन् ।

कुमारी बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु पक्षलाई थप एकीकृत गर्ने जनाएको छ । नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँग सहकार्यलाई समेत निरन्तरता दिने बैंकको भनाइ छ ।

कुमारी बैंकका देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ र १,२३३ पीओएस टर्मिनलमार्फत सेवा दिँदै आएको बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ ।

1

Scroll to Top