सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा ढुवानी क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायीलाई राहत, कर तथा भन्सार छुट, कर्जा पुनरसंरचना, सहुलियत ब्याजदर तथा बीमा दाबी भुक्तानी सहज बनाउने निर्णय गरेको हो ।
भदौ १० गते नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थान योजनाको पहिलो चरणअन्तर्गत यस्तो प्याकेज ल्याएको हो । सरकारका अनुसार तत्काल राहतसँगै प्रभावित उद्योग–व्यवसाय पुनः सञ्चालन, रोजगारी संरक्षण र निजी क्षेत्रको लगानीलाई निरन्तरता दिने उद्देश्यले प्याकेज ल्याइएको हो ।
प्याकेजअन्तर्गत बाढी प्रभावित व्यवसायीलाई थप कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तो सहुलियत कर्जामा एक वर्षसम्म आधारदरमा अधिकतम शून्य दशमलव ५ प्रतिशत बिन्दुमात्र थप गरी ब्याजदर कायम गरिनेछ । यसबाट बाढीका कारण पुँजीगत तथा सञ्चालनगत समस्या भोगिरहेका व्यवसायीलाई पुनः लगानी र कार्यशील पुँजी व्यवस्थापनमा सहज हुने सरकारको अपेक्षा छ ।
त्यस्तै, बाढीका कारण आर्थिक क्षति व्यहोरेका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा पुनरसंरचना वा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । विशेषगरी रसुवा भन्सारबाट आयात भएका वस्तुको क्षतिसँग सम्बन्धित कर्जालाई पुनरसंरचना तथा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ । प्रभावित ऋणीको साँवा तथा ब्याजसमेत एकपटक पुनरसंरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ ।
सरकारले बाढीमा क्षतिग्रस्त भएका व्यावसायिक सवारी तथा ढुवानी साधनका लागि पनि विशेष सहुलियत दिने भएको छ । मर्मत तथा सम्भार गर्न नसकिने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका सवारीको पुरानो दर्ता खारेज गरी सोही प्रकृतिको नयाँ सवारी वा ढुवानी साधन पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ ।
यसैगरी, बाढीबाट पूर्ण रूपमा नष्ट भएका प्लाण्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः आयात गर्दा पनि सम्पूर्ण भन्सार महसुल छुट दिइने व्यवस्था गरिएको छ । प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएका उपकरणको प्रकृतिसँग मिल्ने सामान पुनः आयात गर्दा यस्तो सुविधा पाउनेछन् । तर, पुनः आयात गरिने सामानको परिमाण बाढीबाट नष्ट भएको परिमाणभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै नष्ट भएका आयातित वस्तुको भन्सार महसुलसमेत समायोजन गर्न सकिने भएको छ । भन्सार महसुल बुझाइसकेका तर गन्तव्यमा पुग्नुअघि नै वस्तु नष्ट भएका आयातकर्ताले सोही प्रकृतिको वस्तु पुनः आयात गर्दा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न पाउनेछन् । यस्तो सुविधा लिन नष्ट भएको वस्तुको स्थानमा सोही प्रकृतिको वस्तु छ महिनाभित्र कुनै पनि भन्सार कार्यालयबाट आयात गर्नुपर्नेछ ।
करतर्फ पनि प्रभावित व्यवसायीलाई राहत दिइएको छ । बाढी प्रभावित करदाताले कर विवरण पेश गर्ने तथा कर दाखिला गर्ने म्याद २०८३ कात्तिक २५ गतेसम्म थप गरिएको छ । कार्यालय, अभिलेख, लेखा प्रणाली तथा व्यवसाय सञ्चालनमा बाढीका कारण समस्या भोगिरहेका करदातालाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ ।
बाढीबाट क्षतिग्रस्त व्यावसायिक सम्पत्तिमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) दाबी तथा समायोजन प्रक्रियालाई समेत सरल बनाइने भएको छ । पूर्ण रूपमा क्षति भएका व्यावसायिक सम्पत्तिको मूल्यलाई एकमुष्ठ खर्चकट्टी गर्न सकिनेछ । आंशिक रूपमा क्षति भएका सम्पत्तिको मर्मतमा लागेको खर्चमा आयकर ऐनको दफा १६(२) अन्तर्गतको सीमा लागू नहुने व्यवस्था गरिएको छ ।
त्यस्तै, बाढीबाट प्रभावित व्यक्तिले आय वर्ष २०८२/८३ को आयकरमा पूर्ण छुट पाउने भएका छन् । यस्तो सुविधा लिन सम्बन्धित प्रभावित व्यक्तिले सरकारले तोकेको विवरण पेश गर्नुपर्नेछ । प्रदेश तथा स्थानीय तहबाट समेत प्रभावित व्यवसायीलाई स्थानीय कर तथा शुल्कमा सहुलियत उपलब्ध गराउन सरकारले अनुरोध गर्ने भएको छ ।
बाढीबाट क्षति भएका सवारी, ढुवानी साधन, यन्त्र तथा उपकरण पुनः खरिद गर्न व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यससम्बन्धी आवश्यक व्यवस्था नेपाल राष्ट्र बैंकले गर्नेछ ।
बीमा दाबी भुक्तानीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । बाढीबाट भएको क्षतिको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न नेपाल बीमा प्राधिकरणले विशेष व्यवस्था गर्नेछ । क्षतिको मूल्यांकनका लागि सरल प्रक्रियाबाट सर्भेयर खटाइनेछ भने प्रारम्भिक मूल्यांकनका आधारमा बीमितले ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ ।
ठूलो क्षति व्यहोरेका व्यवसायीले बीमा रकम प्राप्त गर्न लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गरिने सरकारले जनाएको छ ।
सरकारले निजी क्षेत्रलाई विपद् प्रभावितको राहत तथा पुनरुत्थानमा योगदान गर्नसमेत प्रोत्साहित गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष स्थापना गरेका निकायले आर्थिक वर्ष २०८३/८४ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको रकमलाई समेत सीएसआर खर्चका रूपमा मान्यता दिने व्यवस्था गरिनेछ ।
प्याकेज कार्यान्वयनका लागि भन्सार विभाग, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणलाई सम्बन्धित जिम्मेवारी दिइएको छ । सरकारले तत्कालीन राहतसँगै प्रभावित उद्योग–व्यवसाय तथा रोजगारी पुनःस्थापित गर्ने उद्देश्यले व्यवसाय पुनरुत्थान योजनाका थप चरणसमेत अघि बढाउने जनाएको छ ।


