Banijya News

यूएन महासभामा जाँदै प्रधानमन्त्री शाह, भोटेकोशी बाढीको क्षति र जलवायु संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराउने

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन् । न्यूयोर्कमा हुने महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनी छोटो भ्रमण सकेर असोज ९ गते स्वदेश फर्किनेछन् ।

यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा भोटेकोशी बाढीपछि नेपालले भोगेको ठूलो मानवीय तथा भौतिक क्षति र त्यससँग जोडिएको जलवायु परिवर्तनको प्रभाव प्रमुख विषय बन्ने भएको छ । सरकारले पछिल्लो विपद्लाई जलवायु संकटसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

प्रधानमन्त्रीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम, नेपालले भोगिरहेको असमान क्षति तथा जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताइएको छ । साथै, विपद् व्यवस्थापन र प्रभावित मुलुकलाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका लागि समेत नेपालले आग्रह गर्ने तयारी गरेको छ ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो । तर, भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै जलवायु परिवर्तनको मुद्दा उच्च राजनीतिक तहबाट उठाउने उद्देश्यले प्रधानमन्त्री शाह स्वयं न्यूयोर्क जाने निर्णय भएको हो ।

प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । भ्रमण टोलीमा बढीमा १० जना रहने तयारी छ ।

1

Scroll to Top