Banijya News

सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

1
1.0K Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण तत्काल रोक्न निर्देशन दिएकी छन् । उनले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै सुधारका लागि उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी हुन् ।

मन्त्रालयमा सोमबार उद्योगीहरूसँग भएको छलफलमा मन्त्री गौरीले लामो समयदेखि सिर्सिया खोलामा भइरहेको प्रदूषणप्रति मन्त्रालय गम्भीर रहेको बताइन् । उनका अनुसार, सम्बन्धित निकायले पटक–पटक सचेत गराउँदा पनि उद्योगहरूबाट निस्कने रसायनयुक्त पानी तथा औद्योगिक फोहोरको व्यवस्थापनमा अपेक्षित सुधार हुन सकेको छैन ।

सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला अत्यधिक प्रदूषित बनेको छ । यसको प्रत्यक्ष असर बारा र पर्साका विभिन्न बस्तीमा परेको छ। सिमरा, महुली, सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनीलगायत क्षेत्रका बासिन्दा प्रदूषणका कारण प्रभावित हुँदै आएका छन् ।

मन्त्री यादवले उद्योगीहरूलाई वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था पालना गर्दै तत्काल सुधारका काम अघि बढाउन निर्देशन दिइन् । आगामी साता मन्त्रालयको विशेष टोलीले औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्ने र त्यसपछि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारिन् ।

उद्योगबाट निस्कने दूषित पानी र फोहोरका कारण स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको मन्त्रालयको भनाइ छ । लामो समयदेखि किसान तथा स्थानीय बासिन्दाले सिर्सिया खोलाको संरक्षण र पुनर्जीवनको माग गर्दै आएका छन् । मन्त्रीको पछिल्लो निर्देशनपछि स्थानीयले खोलाको प्रदूषण नियन्त्रण हुने र आफ्नो स्वास्थ्य तथा वातावरण संरक्षणमा ठोस पहल हुने अपेक्षा गरेका छन् ।

1

Scroll to Top