आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, प्राथमिक उपचार र अत्यावश्यक सेवा सञ्चालनका लागि निजी क्षेत्रबाट भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पुगेको क्षतिको स्थलगत अवलोकनपछि ढकालले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा निजी क्षेत्रले आफ्नो भूमिका अझ प्रभावकारी बनाउने बताएका हुन्।
बाढीका कारण सयौँ परिवारका घर तथा बस्तीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै ढकालले सडक, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल तथा स्थानीय उद्योग–व्यवसायसमेत प्रभावित भएको बताए। बाढीले साना तथा मझौला व्यवसायीका पसल, गोदाम र अन्य भौतिक संरचनामा क्षति पुर्याउँदा उनीहरूको आर्थिक गतिविधि समेत प्रभावित भएको उनको भनाइ छ।
ढकालका अनुसार विपद्का कारण आफ्नै घर तथा व्यवसायमा क्षति पुगेका अवस्थामा पनि जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय व्यवसायीहरू उद्धार र राहत कार्यमा सक्रिय छन्। निजी क्षेत्रले विपद्को समयमा देखाएको यस्तो सहयोग र सहकार्य प्रशंसनीय रहेको उनले बताए।
स्थलगत भ्रमणका क्रममा ढकालले विदुर नगरपालिकाका नगरप्रमुख, नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी–व्यवसायीसँग भेट गरी बाढीबाट भएको क्षति, तत्कालीन राहत तथा आगामी पुनर्निर्माण र पुनरुत्थानका विषयमा छलफल गरेका थिए।
उनले २०७२ सालको भूकम्प र कोरोना महामारीबाट ठूलो क्षति व्यहोरेर पनि निजी क्षेत्र पुनः आफ्नो अवस्थामा फर्किन सफल भएको स्मरण गर्दै बाढीबाट भएको क्षतिबाट समेत निजी क्षेत्र पुनः उठ्ने विश्वास व्यक्त गरे।
नेपाल–चीन जोड्ने प्रमुख उत्तरी व्यापारिक मार्ग अवरुद्ध हुँदा प्रभावित जिल्लाको जनजीवनसँगै मुलुकको समग्र आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने भन्दै ढकालले क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग आग्रह गरे।
उनले अवरुद्ध सडक तथा अस्थायी पुल निर्माण, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन राज्यका सबै निकायको ध्यानाकर्षण गराए। दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा आपूर्ति प्रणाली सहज बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।
स्थलगत छलफलका क्रममा व्यवसायीहरूले राखेका माग र समस्यालाई नीतिगत तहमा पुर्याउन काठमाडौं फर्किएलगत्तै सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने ढकालले प्रतिबद्धता जनाए।
बाढी प्रभावित व्यवसायी तथा स्थानीयवासीलाई धैर्य राख्न आग्रह गर्दै उनले विपद्को यो कठिन समयमा सिंगो निजी क्षेत्र प्रभावित नागरिकको साथमा रहेको स्पष्ट पारे।


