कर्जा प्रवाहमा आएको संकुचनका कारण आम्दानीमा दबाब बढेपछि वाणिज्य बैंकहरूले सञ्चालन खर्च घटाउने रणनीति अघि सारेका छन् । दैनिक कारोबार तथा सेवा प्रवाहमा लाग्ने खर्च कटौतीसँगै बैंकहरूले व्यावसायिक रूपमा कमजोर र सञ्चालन खर्च बढी भएका शाखा कार्यालय बन्द गर्ने तथा नजिकका शाखामा गाभ्ने क्रम तीव्र बनाएका हुन् ।
बैंकहरूले डिजिटल बैंकिङको विस्तार, ग्राहकको बदलिँदो कारोबार प्रवृत्ति तथा सञ्चालन लागत बढेको अवस्थालाई ध्यानमा राख्दै शाखा सञ्जाल पुनर्संरचना गरिरहेका छन् । कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा आम्दानीमा दबाब परेको अवस्थामा खर्च व्यवस्थापनलाई प्राथमिकता दिँदै बैंकहरूले कम कारोबार हुने शाखा समेट्ने नीति लिएका हुन् ।
यसक्रममा ग्लोबल आइएमई बैंकले धोबीघाट रिङरोडमा रहेको शाखालाई तीनकुने–कोटेश्वर शाखामा गाभेको छ । बैंकले लहान घन्टाघर चोक र प्युठानको बिजुवार शाखासमेत बन्द गरिसकेको छ ।
एनआइसी एसिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखा बन्द गर्ने तयारी गरेको छ । ती शाखामा रहेका फर्निचर तथा अन्य सामग्री लिलामी गर्न बैंकले सार्वजनिक सूचना जारी गरिसकेको छ ।
सिद्धार्थ बैंकले पनि शाखा सञ्जाल पुनर्संरचना गर्ने क्रममा कुलेश्वर शाखालाई कालिमाटी शाखामा गाभ्ने निर्णय गरेको छ । कुलेश्वर विश्वविद्यालय पथमा रहेको शाखा बन्द गर्ने घोषणा गरिसकेको बैंकले न्युरोडको एक शाखा आगामी असोज ३० गतेदेखि बन्द गर्दैछ । कालोपुल, कुलेश्वर, नरदेवी, जावलाखेल तथा पोखराका बुद्धचोक, चिप्लेढुंगा र बगर शाखा यसअघि नै बन्द गरिसकेको छ ।
यसैगरी, माछापुच्छ्रे बैंकले पनि ठमेल, कलंकी, कोटेश्वर, खुसीबु, बालाजु, पोखराको लामाचौर, वीरगन्जको लिंकरोड र चितवनको हाकिमचोक शाखा साउन १८ गतेदेखि बन्द गरिसकेको छ ।
हिमालयन बैंकले २०८३ जेठदेखि साउनसम्म नौवटा शाखा बन्द गरेको छ । प्रभु बैंकले २०८२ वैशाख १३ गतेदेखि १२ वटा शाखा बन्द गरिसकेको छ । तीमध्ये ६ वटा ललितपुर, दुईवटा कास्की र एउटा चितवनमा रहेका शाखा छन् ।
कुमारी बैंकले पनि भदौ २ गतेदेखि लागू हुने गरी काठमाडौंका छवटा शाखा बन्द गरेको छ । यसबाहेक विभिन्न बैंकहरूले विस्तारित काउन्टर तथा शाखारहित बैंकिङ केन्द्रसमेत बन्द गर्न थालेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले शाखा सञ्चालनको खर्च घटाउन घरधनीसँगको बहाल रकमसमेत पुनरावलोकन गर्न थालेका छन् । शाखाको कारोबार, नाफाको अवस्था तथा शाखा रहेको क्षेत्रको व्यावसायिक महत्वका आधारमा घरधनीसँग १५ देखि ४० प्रतिशतसम्म बहाल घटाउन प्रस्ताव गर्दै सम्झौता नवीकरण गर्न दबाब दिन थालेका छन्


