Banijya News

ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने

1
1.1K Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभाको मुख्य आकर्षण शेयरधनीलाई प्रस्ताव गरिएको १० प्रतिशत लाभांश हुनेछ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ। उक्त प्रस्ताव पारित भएमा शेयरधनीहरूले बोनस शेयरसँगै नगद लाभांश पनि प्राप्त गर्नेछन्।

यसका अतिरिक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य नियमित एजेन्डाहरू पनि अनुमोदन गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर खरिद–बिक्री गरी कायम भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

1

Scroll to Top