Banijya News

बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्ने प्रक्रिया अघि बढाएका छन् । हालसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गरिसकेका छन् । केही संस्थाले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारणसभाको मिति समेत तय गरेका छन् ।

वाणिज्य बैंकतर्फ एभरेष्ट बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका हुन् । एभरेष्ट बैंकले शेयरधनीलाई कुल १५ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्ताव पारित गर्न बैंकले असोज १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न असोज १ गतेसम्म कायम शेयरधनी योग्य हुनेछन् ।

यसैगरी, सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले असोज १२ गते वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १ गते शेयरधनी दर्ता किताब बन्द गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले पनि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले असोज १६ गते साधारणसभा गर्ने निर्णय गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा हुनेछ । सभाका लागि बैंकले असोज ५ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्तावित लाभांशको संरचना सार्वजनिक गर्दै साधारणसभामार्फत अनुमोदन गराउने तयारी गरेको छ । बैंकको वार्षिक साधारणसभा भदौ ३१ गते हुने भएको छ भने लाभांश प्रयोजनका लागि भदौ १८ मै शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ ।

यसैगरी, गरिमा विकास बैंकले सबैभन्दा उच्च २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने योजना बनाएको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ४ प्रतिशत बोनस शेयर र ६.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्ने क्रम सुरु भएको छ । साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि सम्बन्धित संस्थाले लाभांश वितरणको प्रक्रिया अघि बढाउनेछन् ।

1

Scroll to Top