Banijya News

उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण, कुन ग्यास कति भयो बितरण ?

1
1.1K Shares

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ। मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गरेर उपत्यकामा ग्यास भित्र्याउनुपरेपछि बजारमा मागअनुसारको आपूर्ति हुन नसकेको हो।

आपूर्ति व्यवस्थामा आएको समस्याका कारण मंगलबार उपत्यकामा नौवटा ग्यास कम्पनीका जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्र डिलरमार्फत बजारमा पठाइएको नेपाल आयल निगमको एलपीजी विभागको तथ्यांकले देखाएको छ। सामान्य अवस्थामा उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि पछिल्ला दिनमा माग बढेर करिब १ लाख सिलिन्डर पुगेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन्।

कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्गबाट ग्यास ढुवानी गर्न कठिन भएको छ। त्यसपछि उद्योगीहरूले त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै ट्रकमार्फत ग्यास काठमाडौं ल्याइरहेका छन्। तर, घुमाउरो तथा असहज सडकमार्गका कारण ढुवानीमा समय बढी लाग्दा बजारको मागअनुसार पर्याप्त ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूको भनाइ छ।

नेपाल आयल निगमका अनुसार मंगलबार सबैभन्दा बढी सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ सिलिन्डर बजारमा पठाएको छ। कम्पनीले ६० वटा डिलरमार्फत उक्त परिमाणको ग्यास वितरण गरेको हो। त्यस्तै, एभरेस्ट ग्यासले २८ वटा डिलरमार्फत ३ हजार ४ सय ७५ सिलिन्डर बजार पठाएको छ।

सुगम ग्यासले १५ वटा डिलरलाई २ हजार ४ सय २३ सिलिन्डर उपलब्ध गराएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको स्वामित्वमा रहेको एसटीसी ग्यासले ४४ वटा डिलरमार्फत २ हजार १ सय ४६ सिलिन्डर बजारमा पठाएको निगमको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, सीताश्री ब्रान्डले ११ वटा डिलरमार्फत १ हजार ६ सय सिलिन्डर उपलब्ध गराएको छ। श्री ग्यासले १८ वटा डिलरमार्फत १ हजार ९ सय ६० सिलिन्डर वितरण गरेको छ। श्रीमाया ग्यासले १४ वटा डिलरमार्फत १ हजार २ सय ९१ सिलिन्डर बजारमा पठाएको छ।

श्रीराम ग्यासले भने नौवटा डिलरलाई जम्मा ३ सय ६० सिलिन्डर र मनोज ग्यासले छवटा डिलरमार्फत ३ सय ५ सिलिन्डर मात्र वितरण गरेको निगमले जनाएको छ।

मागको तुलनामा आपूर्ति अत्यन्त न्यून भएपछि उपत्यकाको ग्यास वितरण प्रणाली प्रभावित बनेको छ। पर्याप्त ग्यास नपाउँदा उपभोक्ताहरू डिलर तथा उद्योग परिसरमा लामो समयदेखि लाइन बस्न बाध्य भएका छन्। कतिपय उपभोक्ता ग्यास पाइने आशामा बिहानैदेखि डिलरमा पुग्ने गरेका छन् भने आपूर्ति नियमित नहुँदा अभाव अझ बढ्ने चिन्ता देखिएको छ।

1

Scroll to Top