जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विवाद टुंगिन सकेको छैन । अधिकांश बैंक भौतिक क्षतिको सीमित असरमा परे पनि नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा भने ठूलो चोरी र लुटपाटको घटनाका कारण अपवाद बनेको थियो ।
आन्दोलनका क्रममा बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा कार्यालयमा क्षति पुगेको र ६९ वटा एटीएममा आंशिक क्षति भएको भए पनि बैंकिङ प्रणाली भने सामान्य अवस्थामा रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बताएका थिए ।
तर, २०८२ भदौ २४ गते जेनजी प्रदर्शन उग्र बनेपछि संसद् भवनको पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो । लुटेराहरुले बैंकको भल्टसम्म पुग्ने फलामे गेटसमेत फोडेर नगद तथा सुन लगेका थिए । घटनामा सर्वसाधारण ग्राहकका लकर भने सुरक्षित रहे पनि बैंकमा रहेको नगद र ऋणीहरुले धितो राखेको सुन चोरी भएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका अनुसार, त्यस दिन शाखाबाट १७ हजार ९ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुन र ५ करोड १५ लाख रुपैयाँ नगद चोरी भएको थियो । बैंकमा उक्त सुन २२६ जना ऋणीले कर्जाको सुरक्षणका रूपमा धितो राखेका थिए । चोरी भएको सुनको तत्कालीन बजार मूल्यअनुसार मात्रै हिसाब गर्दा यसको मूल्य साढे ३३ करोड रुपैयाँभन्दा बढी थियो ।
घटनापछि बैंकले चोरी तथा लुटपाटको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी दिएको थियो । प्रहरी अनुसन्धानका क्रममा असोज २२ गते दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव पक्राउ परेका थिए । पक्राउ परेका यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद तथा केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको थियो । यद्यपि, बैंकबाट ठूलो परिमाणमा सुन र नगद कसले चोरी गरेको हो भन्ने विषय अझै पूर्णरूपमा टुंगिएको छैन ।
एक वर्षमा १२३ ऋणीलाई भुक्तानी
घटना भएको एक वर्ष बितिसक्दा बैंकले २२६ जना ऋणीमध्ये १२३ जनालाई क्षतिपूर्ति रकम भुक्तानी गरिसकेको छ । तर, बाँकी १०३ जना ऋणीले बैंकले प्रस्ताव गरेको रकम लिन अस्वीकार गर्दै आएका छन् । उनीहरुको असहमतिको मुख्य कारण सुनको मूल्य र तौल निर्धारण रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवन्द्ररमण खनालका अनुसार, बैंकको सञ्चालक समितिले गठन गरेको अध्ययन समितिले अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालमा द्वन्द्वकालमा भएका चोरीका घटनामा गरिएको क्षतिपूर्ति अध्ययन गरेर चोरी भएको दिनको मूल्यका आधारमा रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
बैंकले २०८२ भदौ २४ गतेको सुनको बजार मूल्यलाई क्षतिपूर्तिको आधार बनाएको छ । उक्त दिन सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ थियो । सोही मूल्यका आधारमा बैंकले ऋणीलाई रकम भुक्तानी गरेको हो । साथै, चोरी भएको मितिदेखिको कर्जाको ब्याज मिनाहा गरी ऋणीले तिर्नुपर्ने साँवा रकम कट्टा गरेर बाँकी रकम भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
तर, ऋणीहरुले भने एक वर्षको अवधिमा सुनको मूल्य निकै बढिसकेकाले पुरानो मूल्यमा क्षतिपूर्ति लिन नसकिने बताउँदै आएका छन् । अहिले सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ । यसबीचमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यसैले, ऋणीहरुले या त आफूले धितोमा राखेको सुन नै फिर्ता गर्नुपर्ने वा हालको बजार मूल्यअनुसार क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । यही मागसहित उनीहरुले गत असारमा सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शनसमेत गरेका थिए ।
तौलमा पनि विवाद
सुनको मूल्यसँगै तौल निर्धारण पनि क्षतिपूर्ति विवादको अर्को प्रमुख विषय बनेको छ । बैंकले चोरी भएको सुनको बिमा गराउँदा कुल अर्थात् ‘ग्रस तौल’का आधारमा बिमा दाबी गरेको छ । तर, ऋणीलाई क्षतिपूर्ति दिँदा भने सुनका गहनामा प्रयोग हुने जर्ती कट्टा गरेपछिको ‘नेट तौल’लाई आधार बनाएको छ ।
यसले बैंकले बिमा कम्पनीसँग बढी तौलका आधारमा दाबी गर्ने तर पीडित ऋणीलाई कम तौलका आधारमा रकम दिने अवस्था सिर्जना भएको भन्दै प्रश्न उठेको छ । विशेषगरी बैंकमा आवश्यकभन्दा बढी सुन धितो राखेका ऋणी यसबाट थप मर्कामा परेको बताउँछन् ।
स्रोतका अनुसार, यस विषयमा प्रश्न उठेपछि बैंक सञ्चालक समितिले पुनरावलोकनका लागि अर्को समिति बनाएको थियो । उक्त समितिले बिमा दाबी गरिएको कुल तौलअनुसार नै पीडितलाई नगद भुक्तानी गर्न सिफारिस गरेको भए पनि सञ्चालक समितिले त्यसबारे अन्तिम निर्णय गरिसकेको छैन ।
बिमा दाबी आएपछि टुंगो लाग्ने अपेक्षा
बैंकका सीईओ खनालका अनुसार, चोरी भएको नगदको बिमा दाबी रकम प्राप्त भइसकेको छ । तर, सुनको बिमा दाबीमा ग्रस र नेट तौलको विषयमा विवाद भएपछि रकम प्राप्त हुन सकेको थिएन ।
बैंकले बिमा कम्पनीमा ग्रस तौलका आधारमा दाबी गरे पनि बिमा कम्पनीले नेट तौलका आधारमा मात्रै भुक्तानी गर्नुपर्ने अडान लिएपछि बैंकले नेपाल बिमा प्राधिकरणमा उजुरी गरेको थियो । प्राधिकरणको पहलमा विवादमा सहमति जुटेको र अब करिब एक साताभित्र सुनको बिमा दाबी रकम प्राप्त हुने खनालले बताएका छन् ।
उनका अनुसार, बिमा दाबीको रकम प्राप्त भएपछि सुन धितो राखेका ग्राहकलाई कुन तौलका आधारमा क्षतिपूर्ति दिने भन्ने विषयमा सञ्चालक समितिले पुनः निर्णय गर्नेछ । तौलसम्बन्धी पुनरावलोकन प्रस्ताव यसअघि नै सञ्चालक समितिमा पेस भए पनि बिमा दाबीको टुंगो नलाग्दा निर्णय हुन नसकेको बैंकको भनाइ छ ।
जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा भएको भौतिक क्षतिको अधिकांश असर व्यवस्थापन भइसकेको भए पनि राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट चोरी भएको सुनको विवाद भने अझै समाधानको प्रतीक्षामा छ । बिमा दाबी, सुनको तौल र क्षतिपूर्तिको मूल्य निर्धारणसम्बन्धी विषयमा आगामी निर्णयले एक वर्षदेखि जारी विवादलाई कुन दिशामा लैजान्छ भन्ने चासो बढेको छ ।


