नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ। सङ्घका महासचिव भरतबहादुर चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बुधबार एक कार्यक्रमबीच उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गरेका हुन । सो सहयोग रकममध्ये संस्थागत स्रोतबाट रु ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकहरूबाट रु ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो।
यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। प्रभावित नागरिकहरूको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै नेपाल सरकारको आह्वानअनुसार उक्त राहत रकम जुटाइएको हो। सङ्घअन्तर्गतका विभिन्न अस्पताल, आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीहरूको व्यक्तिगत सहयोगलाई समेत एकीकृत गरी यो कोष तयार पारिएको थियो।
आर्थिक सहयोगका साथै सङ्घले विपद् प्रभावित क्षेत्रका नागरिकहरूको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर निःशुल्क आँखा उपचार सेवा पनि सञ्चालन गरिरहेको छ। बाढीका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका नागरिकलाई आवश्यक आँखा परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध गराउने कार्यलाई सङ्घले निरन्तरता दिएको छ। सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले सरकारको राहत प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा स्वास्थ्य सेवा प्रवाहको भूमिका निरन्तर निर्वाह गर्ने जानकारी दिएका छन ।
विपद्को यस कठिन समयमा प्रभावितहरूको जीवनरक्षा र पुनःस्थापनाका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको सङ्घको ठहर छ। सामाजिक उत्तरदायित्व बहन गर्दै आएको यस सङ्घले स्थापनाकालदेखि हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गर्नुका साथै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ। हाल २८ वटा आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ वटा आँखा उपचार केन्द्रमार्फत सङ्घले स्वदेशी तथा विदेशी नागरिकहरूलाई सेवा दिँदै आएको छ।


