भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अष्ट्रेलियन ब्रान्ड ‘आईविवी’को नेपालका लागि आधिकारिक वितरक शुभ हेल्थ केयर प्रोडक्ट्स प्रालिले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गर्दै विपद्को घडीमा प्रभावित परिवारलाई मद्दत गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताइन्।
उक्त ५० लाख रुपैयाँको योगदान पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर र डिलरहरूको सहकार्यबाट सम्भव भएको कम्पनीले जनाएको छ। प्रबन्ध निर्देशक सर्राफका अनुसार उपभोक्ताले उत्पादन खरिद गर्दा खर्च गरेको रकमलाई नै आधार बनाएर राहत कोषमा जम्मा गरिएको हो। यो सहयोग केवल कम्पनीको मात्र नभई आईविवीका उत्पादनप्रति विश्वास देखाउने सम्पूर्ण मामुहरू, रिटेलर र डिलरहरूको संयुक्त योगदान भएको उनले स्पष्ट पारिन्।
विपद्को समयमा सबै पक्षबाट पाएको साथप्रति आभार व्यक्त गर्दै सर्राफले हिजोका दिनमा उपभोक्ताले देखाएको विश्वास र खरिदका कारण कम्पनीले कमाएको मुनाफाकै बलमा आज यति ठूलो सहयोग गर्न सकिएको बताइन्। तीन दिनभित्रै ५० लाख रुपैयाँ जम्मा हुनुमा आईविवीका उपभोक्ता तथा बजार सञ्जालको मुख्य भूमिका रहेको उल्लेख गर्दै उनले यस अभियानमा जोडिने सबैलाई विशेष धन्यवाद दिइन्।
साथै, उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिने सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रसेवक कर्मचारी तथा स्वयंसेवकहरूको सराहनीय कार्यको प्रशंसा गरिन्। भोटेकोशीको विनाशकारी बाढीबाट पीडित नागरिकको पुनःस्थापना र राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेकै बेला आईविवी नेपालले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो ऐक्यबद्धता जनाएको हो।


