नेपालका विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि खराब कर्जाको दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.३७ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका अनुसार, विकास बैंकहरूले कुल ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यी बैंकसँग ६ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ निक्षेप रहेको छ ।
नियमित सञ्चालनमा रहेका विकास बैंकमध्ये नारायणी विकास बैंकको एनपीएल सबैभन्दा उच्च ४८.५१ प्रतिशत पुगेको छ । बैंकको कुल कर्जा भने २८ करोड ६२ लाख रुपैयाँ मात्रै रहेको छ । त्यस्तै, सिन्धु विकास बैंकको एनपीएल ७.६६ प्रतिशत, सप्तकोशी विकास बैंकको ७.६८ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत र ज्योति विकास बैंकको ६.५५ प्रतिशत छ ।
ठूलो कर्जा पोर्टफोलियो भएका बैंकमा पनि खराब कर्जाको अनुपात उल्लेख्य देखिएको छ । मुक्तिनाथ विकास बैंकले १ खर्ब २ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा एनपीएल ४.७७ प्रतिशत छ । गरिमा विकास बैंकको ८४ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ कर्जामा एनपीएल ४.७६ प्रतिशत रहेको छ ।
यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एनपीएल ४.९३ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ६.८७ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत छ ।
सबैभन्दा कम एनपीएल सालपा विकास बैंकको ०.७९ प्रतिशत रहेको छ । मितेरी डेभलपमेन्ट बैंकको एनपीएल ०.२६ प्रतिशत भए पनि यसको कर्जा पोर्टफोलियो ७ अर्ब २४ करोड ६ लाख रुपैयाँ मात्रै छ ।
समग्र विकास बैंकको कर्जा–निक्षेप अनुपात ८४.१० प्रतिशत, प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.७३ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत रहेको छ ।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको अवस्था भने सबैभन्दा गम्भीर देखिएको छ । यसको एनपीएल ९७.४५ प्रतिशत र प्राथमिक तथा कुल पुँजी पर्याप्तता अनुपात ऋणात्मक १४२.६३ प्रतिशत रहेको छ ।


