Banijya News

कांग्रेसभित्र चर्किँदो विवाद : महाधिवेशनबाटै विभाजनको रेखा कोरिँदै, एकता के होला ?

1
1.1K Shares

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच सहमतिका लागि संवादसमेत हुन नसकेपछि पार्टीको १५औं महाधिवेशन नै दुईवटा हुने सम्भावना बढेको छ। संस्थापन र देउवा पक्षले फरक-फरक मितिमा महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसभित्र विभाजनको रेखा स्पष्ट हुँदै गएको हो।

पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न तहबाट प्रयास भइरहे पनि शीर्ष नेताबीच सहमतिको वातावरण बन्न सकेको छैन। यसले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक एकता र नेतृत्व चयन प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।

देउवा र थापा पक्ष आ–आफ्नै तयारीमा

पूर्वसभापति शेरबहादुर देउवा पक्षले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएर महाधिवेशनको तयारी थालेको छ। उक्त पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। देउवाको नेतृत्वमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता भएमा मात्रै एकताको महाधिवेशनमा सहभागी हुने, अन्यथा छुट्टै महाधिवेशन गर्ने देउवा पक्षका नेता गुरु बरालले बताएका छन्।

यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिकाअनुसार तयारी अघि बढाएको छ। विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा काम गर्न चाहने १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई समाहित हुन आह्वान गरिएको संस्थापन पक्षले जनाएको छ।

संस्थापन पक्षले असन्तुष्ट नेताहरूका जायज माग पूरा गरिएको दाबी गर्दै अझै पनि सहमतिको वातावरण निर्माण गर्न लचिलो रहेको बताएको छ। तर, आउनै नचाहने नेताहरूका लागि आफूहरूले केही गर्न नसक्ने संस्थापनका नेताहरूको भनाइ छ।

शेखर कोइराला एकताको पक्षमा

देउवालाई साथ दिँदै आएका नेता शेखर कोइराला भने एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी नहुने रणनीतिमा रहेको बताइएको छ। उनी सहमतिको वातावरण निर्माण गर्न विभिन्न नेताहरूसँग परामर्शमा छन्।

कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार एकताको महाधिवेशन नभए उनले कुनै पनि महाधिवेशनमा भाग लिने छैनन्। कांग्रेसभित्र मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका कोइरालाको यस्तो अडानले पार्टी एकताका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, कोइराला पक्षका नेताहरू आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा अझै छलफलमै छन्। शीर्ष नेतृत्वबीचको टकराव समाधान गर्न सकिने सम्भावना कायम रहेको उनीहरूको विश्वास छ।

२५ नेताको एकता महाधिवेशनका लागि अपिल

कांग्रेसभित्र बढ्दो विवादका बीच एकताको पक्षमा रहेका नेताहरूले दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरी साझा मितिमा एकता महाधिवेशन गर्न अपिल गरेका छन्।

शुक्रबार निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरेलगायत २५ नेताले संयुक्त अपिल जारी गरेका हुन्। उनीहरूले पार्टीलाई विभाजनबाट जोगाउन दुवै पक्षले लचकता अपनाउनुपर्नेमा जोड दिएका छन्।

अपिल जारी गर्ने अधिकांश नेता १४औं महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनीहरू आगामी १५औं महाधिवेशनमा सहभागी हुने तयारीमा छन्। पार्टीभित्रको विवाद समाधानका लागि दबाब बढाउने उद्देश्यले उनीहरूले एकताको अपिल जारी गरेको बताइएको छ।

पूर्णबहादुर खड्काको संस्थापनलाई समर्थन

निवर्तमान उपसभापति पूर्णबहादुर खड्का भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका कारण नैतिक रूपमा महाधिवेशनमा सहभागी नहुने भए पनि सभापति गगन थापालाई सहयोग गर्ने निर्णयमा पुगेका छन्। खड्काको समर्थनले संस्थापन पक्षलाई संगठनात्मक रूपमा बल पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, पार्टीभित्रको विवाद समाधानका लागि उनको भूमिका कस्तो रहने भन्ने विषयमा थप स्पष्टता आउन बाँकी छ।

सर्वोच्चको मुद्दाले थप जटिलता

देउवा पक्षले सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला पुनरवलोकन गर्न दिएको निवेदन अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा रहेको मुद्दा र पार्टीभित्रको फरक–फरक महाधिवेशनको तयारीले विवादलाई थप जटिल बनाएको छ।

कांग्रेसभित्रको विवाद अब केवल नेतृत्व चयनमा सीमित नरही पार्टीको संगठनात्मक भविष्यसँग जोडिएको छ। दुवै पक्ष आ–आफ्नो तयारीमा अघि बढिरहेकाले एकताको महाधिवेशन सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न गम्भीर बनेको छ।

विभाजन रोक्ने जिम्मेवारी शीर्ष नेतामाथि

कांग्रेसका केही नेताहरू अझै पनि पार्टीलाई एकताबद्ध राख्न प्रयासरत छन्। तर, सभापति र पूर्वसभापतिबीच संवादसमेत हुन नसकेको अवस्थामा उनीहरूको प्रयास कति सफल हुन्छ भन्ने निश्चित छैन। फरक-फरक मितिमा वडा अधिवेशनको तयारी अघि बढ्नुले पार्टीभित्रको विभाजनको सम्भावना बढाएको छ। अब कांग्रेसलाई एकताबद्ध राख्न शीर्ष नेताहरूले व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर सहमति खोज्नुपर्ने देखिएको छ। अन्यथा १५औं महाधिवेशन कांग्रेसको नेतृत्व चयन गर्ने अवसर मात्र नभई पार्टी विभाजनको नयाँ अध्याय बन्न सक्ने चिन्ता बढेको छ।

1

Scroll to Top