Banijya News

जेनजी आन्दोलनपछि बढ्यो बीमा चेतना, निर्जीवन बीमालेख २१ प्रतिशतले वृद्धि

1
1.1K Shares

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र भौतिक क्षतिले नेपाली समाजमा बीमाप्रतिको चासो बढाएको देखिएको छ। आन्दोलनका क्रममा ठूलो संख्यामा व्यवसायिक प्रतिष्ठान, घर तथा सवारीसाधनमा क्षति पुगेपछि जोखिम व्यवस्थापनका लागि बीमाको आवश्यकता अझ स्पष्ट भएको हो।

नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले ३४ लाख ६७ हजार १६४ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २८ लाख ६४ हजार ९४५ बीमालेख जारी भएकामा एक वर्षमा ६ लाखभन्दा बढीले संख्या बढेको हो। यसअनुसार निर्जीवन बीमालेख करिब २१ प्रतिशतले वृद्धि भएको छ।

बीमालेखको संख्या बढेसँगै बीमाशुल्क संकलन पनि विस्तार भएको छ। आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमकहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो करिब १८ प्रतिशत बढी हो।

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो छ। समीक्षा अवधिमा मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल निर्जीवन बीमा व्यवसायको २९.८३ प्रतिशत हो। त्यसपछि सम्पत्ति बीमा रहेको छ। सम्पत्ति बीमाबाट १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

जेनजी आन्दोलनका क्रममा परेको क्षतिले यी दुई क्षेत्रमा बीमाको महत्व झनै उजागर गरेको छ। आन्दोलनसँग सम्बन्धित ३ हजार ३६४ वटा बीमा दाबी परेकोमा कुल २३ अर्ब ५३ करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो। त्यसमध्ये सम्पत्ति बीमातर्फ ७२१ दाबीबाट १९ अर्ब १२ करोड ७७ लाख रुपैयाँ माग गरिएको थियो। कम्पनीहरूले यसतर्फ ५ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

मोटर बीमामा भने २ हजार ३४४ वटा दाबी परेको थियो। ती दाबीमार्फत ३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ माग गरिएकोमा २ अर्ब ५ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको छ।

कुल मागदाबीको तुलनामा भुक्तानी अझै कम देखिए पनि माग गरिएको सम्पूर्ण रकम नै अन्तिम भुक्तानीयोग्य रकम भने होइन। क्षतिको मूल्यांकन, प्रमाणीकरण र बीमालेखका सर्तअनुसार वास्तविक दायित्व निर्धारण हुने भएकाले दाबी र अन्तिम भुक्तानीमा अन्तर हुन सक्छ।

आन्दोलनपछि सरकारी संरचनाको बीमा गर्ने विषयसमेत चर्चामा आएको छ। बागमती प्रदेश सरकारले आफ्ना कार्यालय तथा भौतिक संरचनाको बीमा प्रक्रिया अघि बढाएको छ।

समग्रमा निर्जीवन बीमाको विस्तारमा विभिन्न आर्थिक तथा बजारगत कारण भए पनि आन्दोलनले नेपाली समाजलाई अप्रत्याशित जोखिमको वित्तीय व्यवस्थापनबारे थप सचेत बनाएको देखिन्छ। यसले बीमालाई औपचारिकता नभई जोखिम व्यवस्थापनको महत्वपूर्ण साधनका रूपमा बुझ्ने प्रवृत्ति बढाउन सक्ने संकेत गरेको छ।

1

Scroll to Top