Banijya News

विपद् प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री शाहले जनप्रतिनिधिसँग गरे छलफल

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा अन्य विपद्बाट प्रभावित र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित बनेका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका स्थानीय तहका प्रमुख तथा सम्बन्धित प्रतिनिधिसभा सदस्यसँग प्रधानमन्त्रीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको छलफलमा १५ वटा प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी थिए। बैठकमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न परिस्थितिको समीक्षा गर्नुका साथै तत्काल आवश्यक कदम, राहत तथा पुनःस्थापना र दीर्घकालीन पुनरुत्थानका योजनाबारे छलफल गरिएको थियो।

छलफलका क्रममा स्थानीय जनप्रतिनिधिले विपद्पछि आफ्नो क्षेत्रमा देखिएका समस्या, आवश्यक सहयोग तथा पुनःस्थापनाका प्राथमिकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रभावित बस्ती, पूर्वाधार, सडक तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।

नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी थिए। त्यस्तै, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ तथा तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी बैठकमा उपस्थित थिए।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी भएका थिए। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइन माध्यमबाट छलफलमा जोडिएका थिए।

धादिङका तर्फबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया सहभागी थिए।

त्यसैगरी, तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना पनि छलफलमा सहभागी भएका थिए।

बैठकमा विपद्पछि तत्काल राहत तथा व्यवस्थापनका कामलाई प्रभावकारी बनाउनेसँगै प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकको पुनःस्थापना र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिइएको छ।

1

Scroll to Top