Banijya News

युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा प्रवेश, महासचिवको जिम्मेवारी

1
1.1K Shares

‘ग्लोबल युथ पार्लियमेन्ट’का संस्थापक तथा युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै अर्याललाई महासचिवको जिम्मेवारी दिइएको उनेपाका सचिव नरबहादुर कार्कीले जानकारी दिएका छन्।

पार्टीले अर्याललाई संगठनको महत्वपूर्ण जिम्मेवारी दिएसँगै उनेपामा अब दुई जना महासचिव भएका छन्। यसअघि नै पार्टी अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई महासचिवको जिम्मेवारी दिएका थिए। अर्यालको नियुक्तिपछि पार्टीको संगठनात्मक संरचनामा थप विस्तार भएको छ।

अर्यालसँगै उनको नेतृत्वमा काम गर्दै आएका युवाहरूको टोली पनि उनेपामा आबद्ध भएको छ। पार्टीमा प्रवेश गर्नेमा कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललगायत रहेका छन्। उनीहरू सबै दिवाकर अर्यालसँगै सामाजिक तथा युवा अभियानमा सक्रिय रहँदै आएका व्यक्तिहरू हुन्।

दिवाकर अर्यालको नेतृत्वमा ‘ग्लोबल युथ पार्लियमेन्ट’ स्थापना भएको थियो। युवालाई सामाजिक, राजनीतिक तथा नेतृत्व विकासका गतिविधिमा जोड्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाले विभिन्न देशका युवालाई एउटै सञ्जालमा आबद्ध गर्दै आएको छ।

ग्लोबल युथ पार्लियमेन्टमा हाल ८० भन्दा बढी देशका २ हजार १०० भन्दा बढी युवा आबद्ध रहेको बताइएको छ। संस्थाले अन्तर्राष्ट्रिय स्तरमा युवाबीच सहकार्य र संवाद बढाउने गतिविधि सञ्चालन गर्दै आएको छ। यस क्रममा ८० देशका १ हजारभन्दा बढी युवालाई नेपाल भ्रमणसमेत गराइएको जनाइएको छ।

अर्यालको पार्टी प्रवेशलाई उनेपाले युवा पुस्तालाई राजनीतिक मूलधारमा सहभागी गराउने प्रयासका रूपमा लिएको छ। सामाजिक अभियान तथा युवा नेतृत्वमा अनुभव हासिल गरेका व्यक्तिको सहभागिताले पार्टीको संगठन विस्तार र नयाँ पुस्तासँगको सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पार्टी प्रवेशपछि महासचिवको जिम्मेवारी पाएका अर्यालले आगामी दिनमा संगठन विस्तार, युवाको सहभागिता वृद्धि तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनको प्रवेशसँगै उनीसँग जोडिएको युवा समूहसमेत पार्टीमा आएपछि उनेपाको संगठनमा नयाँ पुस्ताको उपस्थितिसमेत बढेको छ।

1

Scroll to Top