Banijya News

रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

1
1.1K Shares

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न मुलुकका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका अनुसार, कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकमध्ये ठूलो संख्यामा बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार, सम्पर्कविहीन विदेशी पर्यटकमा २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिंग पहिचान खुलेको छैन । विभागले संकलन गरेको विवरणअनुसार, सबैभन्दा बढी भारतीय पर्यटक सम्पर्कविहीन छन् । भारतका १८९ जना पर्यटक बेपत्ता भएका छन् ।

त्यसपछि अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना सम्पर्कविहीन रहेको विभागले जनाएको छ । अन्य विभिन्न देशका पर्यटक पनि बाढीपछि सम्पर्कमा आएका छैनन् ।

बाढीका कारण नेपाली नागरिकसमेत प्रभावित भएका छन् । विभागका अनुसार, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा विदेशी पर्यटकको सहयोगीका रूपमा गएका तथा ती क्षेत्रमा घुम्न पुगेका १८८ नेपाली पर्यटक पनि सम्पर्कविहीन भएका छन् । तीमध्ये १६१ पुरुष र २७ महिला छन् ।

यसैबीच सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको छ । विभागका अनुसार, हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ । उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन् ।

त्यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना पुनः सम्पर्कमा आएका छन् । उनीहरूमा तीन पुरुष, नौ महिला र एक जना अन्य समूहका छन् ।

भोटेकोसी बाढीले रसुवाको पर्यटकीय क्षेत्रसँगै सडक, पुल, होटल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण विभिन्न क्षेत्रमा आवतजावत अवरुद्ध भएपछि पर्यटकको खोजी तथा उद्धारमा चुनौती थपिएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायले सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन् ।

1

Scroll to Top