ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। मुलुकमा आएको प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि तत्काल उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भएकाले उनले विदेश भ्रमण स्थगित गरेका हुन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा क्षेत्रका विभिन्न संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
विपद्का कारण क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापना, विद्युत् आपूर्तिलाई नियमित बनाउने र प्रभावित क्षेत्रमा आवश्यक सेवा सञ्चालन गर्नु अहिलेको प्रमुख प्राथमिकता बनेको छ। साथै, बाढीबाट प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कामलाई गति दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले भ्रमणमा नजाने निर्णय गरेका हुन्।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो। उक्त कार्यक्रममा पूर्वाधार विकास तथा सहकार्यका विषयमा छलफल हुने कार्यक्रम थियो।
सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठसहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले गत साउन १३ गते स्वीकृति दिएको थियो।
तर, मुलुकमा गम्भीर विपद्को अवस्था सिर्जना भएपछि मन्त्री श्रेष्ठले विदेश भ्रमणभन्दा स्वदेशमै रहेर तत्कालीन उद्धार, राहत, क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना र विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएका छन्। यससँगै मन्त्रालयको ध्यान प्रभावित क्षेत्रमा ऊर्जा सेवा पुनःस्थापित गर्ने तथा विपद्पछिको पुनर्निर्माणलाई अघि बढाउनेतर्फ केन्द्रित भएको छ।


