रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या १ हजार ४ सय ३६ पुगेको छ । आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त संख्यामा शवहरू फेला पारिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जना गरी कुल १ हजार ४ सय ३४ जनाको शव फेला परेको छ । यसैगरी बाढीमा घाइते भई काठमाडौँमा उपचार गराइरहेका मध्ये थप २ जनाको मृत्यु भएको छ ।
यसैगरी, फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डिएनए नमुना संकलन गरिसकिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय ६२ वटा शवहरूको विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ ।
बाढीमा परी बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको अझै खोजी कार्य जारी रहेको छ । प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन् ।
यसैगरी, बाढीबाट प्रभावित भई विस्थापित भएका १ हजार ३ सय ७२ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा राखिएको छ ।

