रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायसँग सम्बन्धित सवारीसाधन, गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने भएको छ ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायको पूर्वाधारमा क्षति पुगेको र आयातित सवारीसाधनसमेत प्रभावित भएको नाडाले जनाएको छ । कतिपय स्थानमा सवारीसाधन हराएको तथा सम्पर्कविहीन भएको जानकारीसमेत प्राप्त भइरहेको नाडाको भनाइ छ ।
नाडाले प्रभावित आफ्ना सदस्य तथा व्यवसायीलाई बाढी तथा डुबानबाट भएको क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । क्षतिको विवरणमा क्षतिग्रस्त सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान, सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या, प्रकार र उपलब्ध पहिचान विवरण समावेश गर्न भनिएको छ ।
त्यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएका सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा प्रभावित व्यवसायीका समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गरिने नाडाले जनाएको छ ।
विशेषगरी, क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने, बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग पहल गर्ने नाडाको योजना छ ।
ऋण पुनर्संरचनामा सहजीकरण
बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सम्भावित वित्तीय सहजीकरणका लागि समेत नाडाले सम्बन्धित निकायसँग समन्वय गर्ने भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को कठिन परिस्थितिमा नाडा आफ्ना सदस्य व्यवसायीसँगै रहेको बताएका छन् । उनले प्रभावित सदस्यलाई क्षतिको वास्तविक विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गर्दै आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग गर्न अनुरोध गरेका छन् ।
नाडाले अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी राहत, सहजीकरण तथा आवश्यक नीतिगत सम्बोधनका लागि पहल गर्ने जनाएको छ ।
यस कार्यलाई व्यवस्थित बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत नाडाले गरेको छ । उक्त समितिमार्फत प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गरिने नाडाले स्पष्ट पारेको छ ।

