विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढंगले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिए । उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्न निर्देशन दिएका छन् । विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु चुनौती रहेको उल्लेख गर्दै उनले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए ।
यस्तै, लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्नेमा पनि मन्त्री तिमिल्सिनाले जोड दिए । सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुशासन, सहज सेवा प्रवाह तथा विज्ञापन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ कार्ययोजना अघि बढाउने बताए । श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन् । उनीसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव रहेको छ ।

