मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विभिन्न संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ । यसअन्तर्गत पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ ।
सरकारले तीन महत्वपूर्ण विधेयक संघीय संसद्मा पेस गर्न पनि स्वीकृति दिएको छ । जसमा संघीय निजामती सेवा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ संशोधन विधेयक छन् ।
यसैगरी, मन्त्रिपरिषद्ले निजामती सेवाका दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा गरी पदस्थापनसमेत गरेको छ ।
नेपाल प्रशासन सेवातर्फका सहसचिव आवास श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई सचिवमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।

